ललितपुर- साझा यातायातले ‘इटिकेटिङ’ सुरु गर्न तयारी थालेको छ।
नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए।
इटिकेटिङ सुरु भएपछि यात्रुले भाडामा पैसाको साटो कार्डको प्रयोग गर्न सक्नेछन्। साझाका सबै बसमा उक्त नियम लागू हुने उनले बताए। नियमित रुपमा यात्रा गर्ने यात्रु यो सेवाबाट बढी लाभान्वित हुन सक्नेछन्। 'कर्मचारी, विद्यार्थी लगायतलाई यो सेवाले अझै सजिलो हुनेछ,' उनले भने।
साझा यातायातले दुई वर्षपहिले नै नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँग सम्झौता गरेको थियो। गत वर्ष परीक्षणका रुपमा केही बसमा लागू भएको थियो । 'सबै बसमा लागू हुँदा नै यो सेवा अझै प्रभावकारी बन्न सक्छ,' पाण्डेयले भने, 'केही रुटमा र थोरै बसमा मात्र यो सेवा लागू हुँदा भने यात्रुले प्रयोग गर्न नचाहन पनि सक्छन्।'
साझा यातायातको अहिले काठमाडौं उपत्यकामा ४४ वटा र उपत्यका बाहिर दुई वटा बस सञ्चालनमा छ। २९ वटा बस थप गर्ने साझा यातायातले तयारी गरेको छ। साझामा ९७ प्रतिशत सरकारी लगानीमा सञ्चालित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।