राजविराज- बँदेल मार्न थापेको पासोमा आफ्नै साथी परेपछि हत्या आरोपमा सप्तरीमा दुई जना पक्राउ परेका छन्।
कञ्चनरुप नगरपालिका-५, पिप्राटोलका ४५ वर्षीय श्रीलाल सरदार र उनकै छोरा १९ वर्षीय विजयलाई स्थानीय २३ वर्षीय अजय मुखियाको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका बाबुछोरालाई सार्वजनिक गरेको छ। गत कार्तिक १ गते नै भएको घटना भएको थियो। ढिलो गरी सार्वजनिक भएको यो घटनामा बाबुछोरालाई हत्याको आरोपमा पक्राउ गरिएको सप्तरीका एसपी कृष्ण प्रसाईले बताए।
उनका अनुसार मृतक अजय बेपत्ता भएको भन्दै निवेदन आएपछि खोजतलास गर्ने क्रममा हत्या भएको सुराक फेला परेको थियो।
श्रीलालसहित ७/८ जनाको समूहमा सिकार खेल्न कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा गएका थिए। तीमध्ये अजय फर्केर नआएपछि परिवारका सदस्यले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा खोजतलासका लागि निवेदन दिए।
निवेदन परेपछि डिएसपी मकेन्द्र मिश्रसहितको टोली अनुसन्धानमा खटिएको थियो। अनुसन्धानकै क्रममा अजय र श्रीलालसहितको टोली भरुवा बन्दुक बोकेर शिकार खेल्न कोशीटप्पु वन्यजन्तु आरक्षमा गएको र सोही दिनदेखि अजय हराएको सुराक फेला परेपछि घटनाको पर्दाफास भएको मिश्रले बताए।
.jpg)
सिकार खेल्ने क्रममा जंगली जनावरका लागि थापेको करेन्टको पासोमा परेर अजयको मृत्यु भएको प्रहरीले जनाएको छ। ‘यो नै अन्तिम निचोड त होइन, तर अहिलेसम्मको अनुसन्धानले घटना लुकाउन खोज्दा अझ समस्या थपिँदै गएको देखिएको छ,’मिश्रले भने।
‘सिकार खेल्ने क्रममा बन्दुकसहित ३ जनाको टोली एकातर्फ बस्ने र बाँकीले बँदेल खेदेर ल्याउने सहमति भएको देखिएको छ,' मिश्रले भने,‘सिकार अन्त जान नपाओस् भनेर भाग्न सक्ने ठाउँमा करेन्ट सेट गरियो। तर, सिकार खेद्न जाने मान्छेअघि बढ्न नपाउँदै बिजुली छोडिएकाले दुई जनालाई करेन्ट लाग्यो।’
करेन्ट लागेकामध्ये एक जना बचे पनि अजयको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अजयको मृत्युपछि सहमतिमै शव त्यही गाडेर सबै फरार भएको मिश्रले बताए। उनले भने,‘कतिपय घर छोडेरै भागे, कोही गाउँमै बसे।’
.jpg)
घटनापछि गाउँमा अजयको खोजी सुरु भएको थियो। कार्तिक ३ गते गाउँमा पञ्चायती बसेर ४ गतेदेखि खोजतलासमा निस्कने सहमति गरिएको समेत थियो। सो सहमति सुनेपछि संलग्नमध्येका दुई जनाले एकपटक गाडेको शव कसैले नदेख्ने गरी अन्यत्रै सार्ने सहमति गरी श्रीलालका छोरा विजयलाई पनि त्यसमा सहयोग गर्न आग्रह गरेका थिए।
‘शव भेटियो भने तिम्रो बाबु फस्छन्, लुकाउन हामीलाई सहयोग गर,’भनेपछि विजयसहित ३ जनाले शवलाई करिब ५ किलोमिटर उत्तरतिर त्रियुगा नदीको किनारामा गाडेको प्रहरीको अनुसन्धानले फेला पारेको छ।
यसबीचमा शव गाडेर फरार भएका श्रीलाल उदयपुरको कटारीमा लुकेर बसेको र भारत छिर्न घरमा पैसाका लागि खबरसमेत पठाएको प्रहरीले सूचना पाएको दाबी गरेको छ। पैसा पठाउन ठीक परेका उनका आफन्त र छोरालाई प्रहरीले पक्राउ गरी थप जानकारी लियो। उनीहरुकै जानकारीका आधारमा कार्तिक ७ गते श्रीलाललाई पक्राउ गरेर ल्याइएको डिएसपी मिश्रले बताए।

पक्राउ परेका श्रीलाल र उनका छोरा विजयको जानकारीका आधारमा अजयको शव उत्खनन गरी पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइको प्रहरीले जनाएको छ।
‘घट्ना लुकाउन भरपुर प्रयास भएको छ,’मिश्रले थपे,‘शवलाई ठाउँ सार्नेदेखि अनुहारमा पेट्रोल हालेर आगो लगाउनेसम्मका प्रयत्न भएका छन्।’उत्खनन्पछि मृतकका पिता जनक मुखियाले शव आफ्नै छोराको भएको पहिचान गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका बाबु छोरालाई हिरासतमा राखी घटनाको थप अनुसन्धान र फरार रहेका ८ जना अभियुक्तको खोजतलास भइरहेको डिएसपी मिश्रले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।