भक्तपुर- अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब ८ लेन बन्ने भएको छ।
सडक ८ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नुपर्ने मागसमेत गरेका छन्। काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो निर्माण हुनुपर्ने माग गरेका हुन्।
कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक–धुलिखेल सडक देशकै महत्वपूर्ण योजना भएकाले यसको विस्तार तीव्र गतिमा गर्नुपर्नेमा जोड दिए। 'अहिले सूर्यविनायक जगाती सडकखण्डमा बढ्दोे सवारी चापलाई कम गरी सहजरूपले सवारीसाधन सञ्चालनका लागि सडक विस्तारले निकास दिनेछ,' उनले भने, 'यो नाकामा सडक साँघुरो भएकाले पलाँसे–साँगा भञ्ज्याङ खण्ड र कोटेश्वरमा सुरुङ निर्माण गर्ने योजनासमेत अगाडि बढेको छ।'
हाल सञ्चालनमा रहेको कोटेश्वर–सूर्यविनायक ६ लेन सडकमा दुर्घटना बढेकोप्रति सचेत हुँदै सडक विस्तार गर्दा ट्राफिक लाइट, सिसिटिभी, सडक बत्ती, आकाशे पुल र फुटपाथको यथोचित व्यवस्था गरी दुर्घटना न्यूनीकरणमा सचेतता अपनाएर सडक विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्दा हाललाई ७५ फिटमात्रै बनाउनुपर्ने, सडक विस्तार गर्दा पहिलो पटकलाई सडकमा पर्ने सबै घरजग्गाको मुआब्जा दिने व्यवस्था गरिनुपर्ने उनले बताए।
सडक विभागका वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले सूर्यविनायक–धुलिखेल ८ लेन सडक विस्तारमा जापान सरकारले सहयोग गर्ने बताए। 'यो सडकखण्ड विस्तारका लागि जापानले प्रारम्भिक अध्ययन गरिरहेको छ, सडक विभागको प्रतिनिधिमण्डलको जापान भ्रमण क्रममा प्रारम्भिक अध्ययन सकेपछि ऋण सम्झौतामा हस्ताक्षर गर्ने प्रतिबद्धता जापानले गरेको छ,' उनले भने।
जापानले शून्य दशमलव २ प्रतिशत ब्याजमा ऋण सहयोग दिने प्रतिबद्धता जनाएकाले यो सडकखण्ड छिट्टै विस्तार गर्ने तयारी भएको उनको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।