काठमाडौं- महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेसनमा पक्राउ परेका ६ जना भिभिआइपीलाई प्रहरीले सोमबार सर्वोच्च अदालत उपस्थित गराउँदै छ।
हिजो सर्वोच्चले उनीहरुको हकमा २४ घन्टाभित्र उपस्थित गराउन आदेश गरेकाले सोमबार ३ बजेसम्म उनीहरुलाई अदालत ल्याउनु पर्ने सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बताए।
आइतबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दीलाई अदालत उपस्थित गराउन भनेको थियो।
तिहारमा थुनामा बस्नु पर्ने भएपछि सर्वोच्च जानेमा क्यासिनोका खेलाडी बलराम सापकोटा ‘बले’, ठेकेदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा सर्वोच्च पुगेका थिए।
उनीहरु थुनामा राख्ने प्रहरीको निर्णय गैरकानुनी भएको जिकीर गर्दै आइतबार सर्वाेच्चमा बन्दीको निवेदन दिएका थिए।
उनीहरुको निवेदनमा आइतबार नै सुनुवाई भएको थियो।
अदालतले दिएको आदेशअनुसार उनीहरुलाई सोमबार दिउँसो सर्वोच्च अदालत उपस्थित गराउँनु पर्नेछ।
सोमबार अदालत उपस्थित भएपछि सर्वोच्चले उनीहरुलाई छाेड्ने बारेमा निर्णय गर्नेछ।
सर्वाेच्चले रिहा नगरे उनीहरुले तिहार हिरासतमै बिताउनु पर्नेछ।
शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका उनीहरुको साथबाट २ करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो।
पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने तयारी प्रहरीले गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।