–दयाराम आचार्य/रासस
कावासोती- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम सुरु गरिएको छ। निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सीबाट सडक विस्तारको काम सुरु गरेको हो।
नारायणगढ-बुटवल सडक विस्तारको काम सुरु हुन नसकेको भनेर गुनासो बढ्न थालेपछि निर्माणको जिम्मा पाएको कम्पनीले काम सुरु गरेको हो। गत चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तारको शिलान्यास गरेका थिए। शिलान्यासको ७ महिनापछि मात्रै काम सुरु भएको हो।
सडक विस्तारका क्रममा सडक क्षेत्रभित्र पर्ने रुख काट्ने अनुमति प्राप्त हुन नसक्दा कम्पनीले रुख नभएको स्थानबाट काम सुरु गरेको जनाएको छ।
आयोजनाको पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीका अनुसार रुख काट्ने अनुमति अझै पूर्णरुपमा पाइएको छैन। रुख काट्ने अनुमति नआएको र काम सुरु गर्नसमेत ढिलो भएपछि कम्पनीले रुख नभएको स्थानबाट काम सुरु गरेको हो। पहिलोपटक गरेको वातावरणीय अध्ययनबाट रुख कटानको यकिन तथ्याङ्क ननिस्किएपछि दोस्रोपटक फेरि वातावरणीय अध्ययन गर्नुपरेकाले रुख कटानको अनुमति आउनसमेत ढिलाइ भएको उनले बताए।
दोस्रोपटकको वातावरणीय अध्ययनबाट कम्तीमा ५० हजार रुख काट्न सकिने बताइएको छ। रुख काट्न अनुमति भने अझै नआएको हुदाँ तिहारलगत्तै रुख कटानको अनुमति आउने र काम पनि धमाधम सुरु हुने योजना प्रमुख अधिकारीको भनाइ छ। रुख नभएको स्थानमा माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम गरिने उनले बताए। त्यसअन्तर्गत लोकाहामा माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम सुरु गरिएको छ
गैँडाकोटको थुम्सीबाट भने सडकमा रहेका साना-साना पानी निकासका लागि राखिएका ह्युम पाइपलाई फेर्ने, व्यवस्थित गर्ने काम गर्न लागिएको उनले बताए। अहिले पहिलो खण्डअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको काम सुरु गरिएको हो। रुख काट्न अनुमति लिन, विद्युत, खानेपानीलगायत सडक क्षेत्रभित्र पर्ने पूर्वाधारको व्यवस्थापनको विषय छलफल गरेर काम गर्नुपर्ने भएकाले समेत काम सुरु गर्न ढिलाइ भएको योजना प्रमुख अधिकारीको भनाइ छ।
अब निर्माणको काममा कुनै बाधा नआए कामले गति लिने उनले विश्वास व्यक्त गरे। दोस्रो खण्डमा भने अझै काम सुरु हुन सकेको छैन। नारायणगढ-बुटवल खण्डलाई दुई भागमा विभाजन गरिएको छ।
सोअन्तर्गत नवलपरासी पूर्व गैँडाकोटदेखि दाउन्नेसम्मको एउटा खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको अर्को खण्ड रहेका छन्। झन्डै १ सय १३ किलोमिटर सडक विस्तार गरी ४ लेनको बनाउन लागिएको हो। सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तारको योजना यसै खण्डबाट सुरु गर्न लागेको हो।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विस्तारको काम गर्न लागिएको हो। सडक विस्तारका लागि झन्डै १७ अर्ब रुपैयाँमा ठेक्का लागेको छ। सडक विस्तारपछि चार लेनको हुनेछ। हाल रहेको दुई लेनको सडक विस्तारपछि दुवैतर्फ ७/७ मिटरको हुनेछ। दुई-दुई लेनको बीचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुने बताइएको छ।
तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ। बजार क्षेत्रमा ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ। दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ। उकालोतर्फ चढ्ने सवारीले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा उत्रिने सवारीले एक लेन प्रयोग गर्ने गरी तीन लेनको सडक निर्माण गरिने योजना प्रमुख अधिकारीले बताए। (तस्बिर- नारायणगढ-बुटवल सडकखण्डको स्केच)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।