काठमाडौं- उद्योग संगठन मोरङ र नेपाल विद्युत प्राधिकरणबीच विद्युत जडानमा अतिरिक्त शूल्क नतिर्ने/नतिराउने सहमति भएको छ।
प्रधिकरणबाट उद्योगहरुमा प्रवाह भइरहेको विद्युत सेवामा लोडसेडिङ, ट्रिपिङ, स्विचिङजस्ता समस्या तथा उद्योगी व्यवसायीले भोग्नु परेको कठिनाइ सम्बन्धमा दुई पक्षबीच भएको छलफलपछि शुक्रबार यस्तो सहमति भएको हो।
कात्तिक १ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराम न्यौपाने, क्षेत्रीय निर्देशक श्रीराम राज पाण्डे, विराटनगर शाखा प्रमुख राजिव कुमार सिंहलगायत दुवही, कटहरी, इटहरी शाखाप्रमुखको उपस्थितिमा उद्योग संगठन मोरङले अतिरिक्त शूल्क कटौतीका विषयमा प्राधिकरणसँग छलफल गरेको थियो।
उक्त बैठक तथा छलफलका क्रममा भएको सहमतिअनुसार अबदेखि नयाँ विद्युत मिटर जडान गर्दा, मिटर स्तरोन्नति गर्दा, परिवर्तन गर्दा वा विद्युतसम्बन्धी कुनै पनि सेवा लिँदा नेपाल विद्युत प्राधिकरणले तोकेको शूल्कबाहेक कुनै पनि अतिरिक्त शूल्क नतिर्ने र नलिने सहमति भएको हो।
विद्युत सेवालाई भरपर्दो र स्तरीय बनाउन नेपाल विद्युत प्राधिकरणले भरपूर प्रयास र सहयोग गर्ने साथै विद्युत जडान तथा नयाँ मिटर परिवर्तन एवं कुनै पनि सेवामा अतिरिक्त शूल्क नलिने गरी सहमति भएको उद्योग संगठन मोरङले जनाएको छ।
दुई पक्षबीच भएको सहमतिअनुसार अतिरिक्त रकम नभई काम नभएमा कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक तथा क्षेत्रीय निर्देशकहरुलाई तथा उद्योग संगठन मोरङमार्फत समेत सिधै जानकारी गराउन सकिने जनाइएको छ। प्राधिकरणले पनि देशैभरका उद्योगधन्दाहरुमा उपलब्ध गराउँदै आएको विद्युत सेवामा अतिरिक्त शूल्क नलिन कर्मचारीहरुलाई निर्देशन दिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।