चितवन- आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ८ अर्ब ५८ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। गत वर्षको यसै अवधिमा ७ अर्ब ४५ करोड ५१ लाख १३ हजार राजस्व सङ्कलन भएको थियो।
कार्यालयका सूचना अधिकारी धनिश्वर अर्यालका अनुसार चालू आर्थिक वर्षमा राजस्व विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको भए पनि गत वर्षको यसै अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको छ। विभागले पहिलो ३ महिनाका लागि १० अर्ब ७४ करोड ९५ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो।
चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५५ करोड ७ लाख ५१ हजार रुपैयाँ बढी राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ। चालू आर्थिक वर्षमा अन्तःशुल्कमा ६ अर्ब ८१ करोड ५९ लाख ५० हजार, मूल्य अभिवृद्धि करमा ५९ करोड ४८ लाख ५८ हजार, आयकरमा ५२ करोड ६० लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
कार्यालयका अनुसार ब्याज करमा ४ करोड ७१ लाख ६० हजार, बहाल करमा १ करोड ७३ लाख १८ हजार, स्वास्थ्य सेवा करमा ४४ लाख ५ हजार र शिक्षा सेवा शुल्कमा १ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जनकारी दिए।
कार्यालयले लक्ष्य निर्धारण बढी भएका कारण तोकिएअनुसारको सङ्कलन गर्न कठिन भएको जनाएको छ। बजारमा व्यापार घटेको, केही कम्पनी ठूला करदाता कार्यालयमा गएको, भिसिटिएसका कारण ढुवानीमा अन्योल रहेको, मदिराजन्य वस्तुहरुको बिक्रीवितरणमा कमी आएको, भन्सार विन्दू घटेकाजस्ता कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।