काठमाडौं- नेपाल लाइफ इन्स्यौरेन्स कम्पनीले डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ। बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको उद्घाटन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बिमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकोले जोखिम बहनको साथै बचतसमेत हुने बताए।
अध्यक्ष चापागाईंले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बिमाको दायरामा ल्याउन सुझाए। उनले बिमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बिमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तीव्र गतिले बिमा व्यवसाय विस्तार भइरहेको परिप्रेक्षमा एक तिहाइ बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भएको बताए।
करिब एक तिहाइ बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा ५ अर्ब ५० करोड रहेको छ भने लगानी ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको जीवन बिमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ।
कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा ७ अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ। १ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।
हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६३ हजार ९ सय ८१ व्यक्ति यस कम्पनीमा बिमित भइसकेका छन्। ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।