काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले व्यावसायिक सहजता सूचक (डुइङ बिजनेस इन्डेक्स)मा अर्को वर्ष ८० औँ स्थानमा उक्लिने लक्ष्य लिएर सुधारका काम अघि बढाउने बताएका छन्। विश्व बैंकले यो वर्षको सूचक सार्वजनिक गरेपछि आयोजित कार्यक्रममा खतिवडाले अहिलेभन्दा राम्रो नतिजा आउने गरि अर्को वर्ष काम गर्ने बताए।
'यो वर्ष हामी १६ स्थान माथि उक्लिएका छौं, १९० देशमा गरिएको मूल्यांकनमा त्यसको आधा अर्थात् ९५ विन्दुभन्दा हामी अगाडि छौं,' अर्थमन्त्री खतिवडाले भने, 'अर्को वर्ष ८० स्थानमा आउने लक्ष्यका साथ काम गर्छौं, ९० भित्र पर्न सके पनि सन्तोषजनक हुनेछ।'
मन्त्री खतिवडाले वित्तीय संघीयताको संक्रमणकाल व्यवस्थापनको छिटो व्यवस्थापन भएको भन्दै अर्को वर्षबाट दोहोरो कर र अधिक करको गुनासो नआउने पनि बताए। 'यसका केही विषय छन् तर अर्को वर्षबाट ती अपवाद पनि आउँदैनन्,' उनले भने। मन्त्री खतिवडाले संघीयता कार्यान्वयनसँगै व्यावसायिक लागत बढ्ने जोखिम देखिएकाले सूचक तल झर्ने डर आफूमा रहेको पनि उनले उल्लेख गरे।
निजी क्षेत्र र सरोकारवालाले अनुभूति नगरेसम्म सुधारको अर्थ नहुने भन्दै खतिवडाले सरकारले नीतिगत, कानुनी र प्रक्रियागत सुधारलाई सधैं अघि बढाउने पनि बताए। सरकारले केही ऐन संशोधनको प्रक्रिया अघि बढाइसकेको भन्दै उनले २०२१ को प्रतिवेदनमा त्यो प्रतिबिम्बित हुने पनि उल्लेख गरे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले ७ वटा मन्त्रालय र विभिन्न निकायसँगको समन्वयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत व्यावसायिक सहजता सूचक सुधारमा नेपालको अवस्था सुदृढ गर्न निरन्तर मेहनत गरिएको उल्लेख गरे। 'धेरै कुरा सुधार गरेका छौँ,' उनले भने, 'म यत्ति भन्न सक्छु हामी अहिले ट्रयाकमा छौँ।'
सरकारले गरेका नीतिगत सुधार निजी क्षेत्रले नबुझेको उनको गुनासो थियो। 'सुधार गरिएका छन्, तर निजी क्षेत्रका प्रतिनिधिले विगतका कुरा दिमागमा बोकेर हिँडेको पनि देखिएको छ,' उनले भने, 'उत्तरदाताले सरकारले गरेका नीतिगत, कानुनी र प्रक्रियागत सुधारबारे राम्रोसँग बुझ्नुपर्यो।'
व्यावसायिक सहजता सूचकमा नेपालको अवस्था बलियो बनाउन ३ वर्षे रणनीति तय गरिएको पनि उनले बताए। 'कति कुरा यसैपटकको प्रतिवेदनमा प्रतिबिम्बित भएको छ भने कति कुरा २०२१ मा आउने प्रतिवेदनमा पनि समेटिनेछ,' उनले भने।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समग्र सूचकमा नेपालले गरेको प्रगति सन्तोषजनक भए पनि अझै धेरै सुधार गर्नुपर्ने बताए। उनले साना तथा मझौला व्यवसायीले ऋण नपाउने र तलरता अभाव भएका बेला उनीहरु नै धेरै मारमा पर्ने गरेको गुनासो गरे। सामाजिक सुरक्षामा सरकारले लिएका निर्णय कार्यान्वयन हुन नसकेको पनि उनले बताए।
नेपालले लक्षित गरेको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन विदेशी लगानी आवश्यक रहेको भन्दै उनले यस्ता सुखद प्रतिवेदनले लगानीकर्तालाई आकर्षित गर्न सहयो गर्ने पनि बताए। 'विदेशी लगानीकर्ताले हेर्ने भनेको पनि विश्व बैंक वा अन्य निकायका यस्तै प्रतिवेदन हो,' उनले भने, 'यसपटक हामीले राम्रो प्रगति गरेको प्रतिवेदन पाएका छौँ, यो राम्रो हो।' यस्तै विश्व बैंकका फारिस एच हडाडजेरभोसले पनि नेपालले गरेको सुधारको प्रसंसा गरेका छन्।
विश्व बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल १६ स्थान माथि उक्लिँदै ९४ औँ स्थानमा आइपुगेको छ। नेपाल दक्षिण एसियामा तेस्रो भएको थियो। १९० देशमा गरिएको मूल्यांकनमा नेपाल गत वर्ष ११० औँ स्थानमा थियो। गत वर्ष ५ स्थान तल झरेको नेपालले यसपटक ठूलो फड्को मारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।