भैरहवा- हिन्दू धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व तिहार (दिपावली) सुरु भइसकेको छ।
तिहार नजिकिएसँगै बजार होस् या खेत, फूलमय माहोल छ। तिहारका लागि तयार गर्नेगरी केही महिनाअघि देखि नै रुपन्देहीमा किसान, विभिन्न संघसस्था तथा समूह व्यवसायिक रुपमै फूलखेतीमा व्यस्त छन्। व्यावसायिक फूल खेतीमा आकर्षण बढेसँगै भारतबाट फूल आयतमा पनि कमी आएको व्यवसायीहरु बताउँछन्।
नेपालमा सबैभन्दा बढी फूलको खपत हुने समय भनेको तिहार हो। तिहारमा प्रयोग हुने सयपत्री, मखमली (स्थानीय लवजमा सुपारी फूल पनि भन्ने गरिन्छ)लगायतका फूलहरुको स्रोत केही वर्षअघिसम्म भारत थियो। तर, अहिले भारतीय फूललाई विस्थापित गर्ने गरी धेरै नेपाली कृषकहरु फूलको व्यवसायिक खेतीमा संलग्न छन्। यसबाट फूलमा पनि नेपाल आत्मनिर्भर बन्ने बाटोमा छ भन्न सकिन्छ। तिहारमा बढी प्रयोग हुने सयपत्री र मखमली फूलको उत्पादन नेपालमै हुन थालेपछि भारतबाट यसको आयातमा कमी आउनुले पनि यसलाई पुष्टि गर्दछ।
तिहारलगायत विभिन्न पर्व एवं उत्सव तथा कार्यक्रममा प्रयोग हुने सयपत्री फूलको मालाका लागि सधैं भारतमा आत्मनिर्भर हुँदा वार्षिक लाखौं रूपैयाँ बाहिरिने गरेको थियो। तर, पछिल्ला केही वर्षदेखि तराईसहित देशका विभिन्न स्थानमा सयपत्री फूलको व्यवसायिक खेती हुन थालेपछि पाएसम्म नेपाली सयपत्री फूलकै मालाको प्रयोग बढ्दो छ। तिहारमा एकैपटक धेरै खपत हुनेहुँदा पनि भारतको भर पर्नु परेको व्यवसायीहरु बताउँछन्। कृषक र व्यवसायीकै शब्दमा भन्ने हो भने तिहारबाहेकको समयमा नेपाल सयपत्री फूलका लागि भारतको भर पर्नुपर्ने अवस्थामा छैन।
तिहारलगायत यस क्षेत्रमा लाग्ने मेला, महोत्सव तथा सभासमारोहमा नेपालमै उत्पादित सयपत्री फूलको माला प्रयोग गर्ने गरिएको छ। यसका लागि भैरहवा आसपास विभिन्न स्थानमा समेत व्यवसायिक फूलको खेती गरिँदै आएको छ। जसमध्ये एक हो भैरहवा-९, गोनहियामा गरिँदै आएको सयपत्री फूलको व्यवसायिक खेती। नेपाल बहुमुखी सहकारी संस्थाअन्तर्गत कृषि परियोजना सञ्चालन गरी यसै वर्षबाट तरकारी एवं फलफूल खेती सुरु गरिएको छ। तिहारलाई ध्यानमा राख्दै संस्थाले सयपत्री फूलको उत्पादन गरेको संस्थाका सदस्य सुशील पौडेलले बताए।

सयपत्री पूलको उत्पादनमा यस वर्ष ३० हजार रूपैयाँमात्रै लगानी गरिएको पौडेलको भनाइ छ। तीन महिनाअघि सुरू भएको सहकारीको कृषि परियोजनाअन्तर्गत ३ विघा जग्गामा अहिले विभिन्न तरकारी, केरा, मेवा, कागतीसँगै सयपत्री फूलको व्यवसायिक खेती गरिएको छ। सयपत्री फूल मात्रै करिब १० कठ्ठा जग्गामा लगाइएको उनको भनाइ छ। '१० कठ्ठा जग्गामा १ हजार ५ सय बढी बेर्ना लगाएका थियौं,' पौडेलले भने।
गोनहियामा मात्र होइन अहिले जिल्लाका दर्जन बढी स्थानमा तिहारलक्षित सयपत्री र मखमली फूलको व्यवसायिक उत्पादन भइरहेको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कुञ्जलापुर, टिकुलीगढ, डिङ्गरनगर लगायतका स्थानमा पनि व्यावसायिक फूल खेती गरिएको छ। यसले विशेषगरी भारतको वनारस र कोलकाताबाट आउने फूललाई प्रतिस्थापन गरेको पौडेल बताउँछन्।
.jpg)
तिलोत्तमाको कुञ्जलापुरमा तिलोत्तमा सहकदम कृषि समूह स्थापना गरेर फूल खेती गर्दै आएकी देवि वाग्लेले तिहारलाई लक्षित गरेरै सयपत्रीको उत्पादन गरिएको बताइन्।
वाग्लेले भारतीय फूलको आयातलाई रोक्न तथा प्रदेश ५ लाई सयपत्री फूलमा आत्मनिर्भर बनाउन तीव्ररुपमा व्यवसायिक फूल खेती गर्ने कृषकको संख्या बढेको दावी गरिन्। उनले फूल खेतीमा महिलाहरुको पनि सहभागिता बढ्दो क्रममा रहे पनि सरकारले यस खेतीलाई कृषि क्षेत्रमा समावेश नगरेका कारण आफूहरुले धेरै समस्या झेल्नुपरेको गुनासो गरिन्। 'बीउदेखि जग्गा र सिँचाइको समस्या छ। फूल खेती सुरु गरेका कतिपय कृषकलाई न्यूनतम मात्रै जानकारी छ, यसतर्फ सरकारले खासै ध्यान पुर्याउन सकेको छ,' उनले भनिन्।

फूलको आयातमा कमी आएको भैरहवा भन्सार कार्यालयको तथ्यांकबाट पनि स्पष्ट हुन्छ। यद्दपि साउनअघि फूलको आयातबारे भैरहवा भन्सार कार्यालयसँग स्पष्ट तथ्यांक छैन। तर, साउनदेखि यता मात्रै कार्यालयले तथ्यांक राख्न सुरु गरेको हो। कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ८ लाख ६४ हजार ७ सय ७३ रुपैयाँ बराबरको फूल आयात भएको देखिन्छ।

जसअनुसार ३५ हजार ७ सय ५० किलोग्राम विभिन्न जातका फूल नेपाल भित्रिएका छन्।
फूलको खपत बढी हुने समय भएकोले पनि आयात बढी भएको कुनसक्ने कार्यालयले जनाएको छ। यद्यपि यस नाकाबाट भित्रिने फूल विशेषगरी राजधानी काठमाडौं, पोखरा, चितवनसम्म पनि खपत हुने भएकोले यसलाई ठूलो परिणाम मान्न नसकिने कार्यालय बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।