काठमाडौं- चौधरी ग्रुपले नवलपरासीको दुम्कौलीमा अन्तर्राष्ट्रियस्तरको रिसोर्ट सञ्चालनमा ल्याएको छ।
दुम्कौलीस्थित चौधरी उद्योग परिसरको उत्तर पश्चिममा अत्याधुनिक सुविधासहितको रिसोर्ट सञ्चालनमा ल्याएको हो। रिसोर्टमा गल्फ कोर्टसहितको सुविधा छ।
चार वर्ष अघिदेखि चितवनको मेघौलीमा मेघौली सेराई होटल सञ्चालन गर्दै आएको चौधरी ग्रुपले नवलपरासीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याएको हो।
चौधरी ग्रुपका महाप्रबन्धक नारायण श्रेष्ठले नेपालमा सबै सुविधायुक्त रिसोर्ट यो नै पहिलो र अन्तर्राष्ट्रियस्तरको रहेको दाबी गरे। नेपाली खेलाडीलाई गल्फमा आकर्षित गर्ने उद्देश्यले रिसोर्टमा पहिलो चरणमा निःशुल्क गल्फ खेल्ने व्यवस्था मिलाइएको उनले बताए।
गल्फमा वार्षिक र १० वर्षका लागि सदस्यता लिन सकिनेछ। १० वर्ष र वार्षिक ग्राहकलाई आकर्षक र सस्तो प्याकेजको अफर ल्याइएको छ।
रिसोर्ट ३५ बिगाहा क्षेत्रफलमा फैलिएको छ। रिसोर्टको आफ्नै २५ बिगाहाको जंगल पनि रहेको र त्यहाँ डेढ घन्टाको पैदल यात्रा गर्न सकिने जनाइएको छ। रिसोर्टमा रेष्टुराँका साथै स्पा, जिमहाउस, पुस्तकालय र पोखरी समेत छन्।
रिसोर्टमा सुरुवाती चरणमा १० वटा ब्लक बनाइएको र एक वर्षभित्र २० वटा ब्लक थप्ने योजना अनुसार काम भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।