काठमाडौं- हालसम्म विद्युतीय सवारीलाई इन्धनबाट चल्ने सवारीको विकल्पको रुपमा लिइएको छ। त्यसैले विश्वका सबैजसो देशले विद्युतीय सवारीलाई उच्च प्राथमिकता दिइरहेका छन्। नेपालमा पनि सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति लिँदै यस्ता सवारीमा भन्सार दर न्यून तोकेको छ भने विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार निर्माणमा सहजीकरणसमेत गर्ने बताएको छ।
भारत सरकारले समेत विद्युतीय सवारी उत्पादकलाई विभिन्न योजनासहित सहुलियत दिँदै आएको छ। त्यसैको फलस्वरुप सवारी उत्पादकहरुले धमाधम विद्युतीय कार बजारमा ल्याउने तयारी गरेका छन्। भारतमा अबको केही समयमा उपलब्ध हुने सस्तो मूल्यका ७ विद्युतीय कारबारे यहाँ उल्लेख गरिएको छ। यी कार नेपाली बजारमा समेत आउने आँकलन गरिएको छ।
टाटा नेक्सन इभी
भारतीय सवारी उत्पादक कम्पनी टाटाको चर्चित सब-कम्प्याक्ट एसयुभी 'टाटा नेक्सन इभी' आउने भएको छ। कम्पनीले उक्त कार 'दिल्ली अटो एक्सपो २०२०' मा सार्वजनिक गर्ने भएको छ।
यो कार टाटाको नयाँ जिपट्रोन टेक्नोलोजीमा आधारित पहिलो कार हुनेछ। यस कारले एकपटक फुल चार्ज गर्दा ३ सय किलोमिटर माइलेज दिनेछ। नेक्सन इभीको मूल्य १५ देखि १७ लाख भारतीय रुपैयाँ (भारु) पर्ने अनुमान गरिएको छ।
महिन्द्रा एक्सयुभी-३०० इभी
केही महिनाअघि सार्वजनिक भएको महिन्द्राको 'एक्सयुभी-३००' को इलेक्ट्रिक भर्सन आउने भएको छ। यो इलेक्ट्रिक कारमा ४० केडब्लुएच मोटर हुनेछ भने यसले फुल चार्जमा ३ सय किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।
'एक्सयुभी ३०० इभी'को मूल्य १० लाख भारु पर्ने अनुमान गरिएको छ।
टाटा अल्ट्रोज इभी
टाटा मोटर्सले सन् २०२० अगावै इन्टरनल-कम्बस्टन टाटा अल्ट्रोज सार्वजनिक गर्ने तयारी गरेको छ। सन् २०१९ को जेनेभा मोटर शोमा अल्ट्रोजको इलेक्ट्रिक भर्सन सोकेस गरिएको थियो। यो कार सन् २०२० को अन्त्यसम्ममा भारतीय बजारमा सार्वजनिक हुने अनुमान छ।
यसको मूल्य करिब १५ लाख भारु तोकिने बताइएको छ।
रेनो क्विड इभी
रेनोले 'सांघाइ मोटर शो'मा 'सिटी के-जेडई' सार्वजनिक भई बिक्रीसमेत सुरु भएको छ। यो कारमा रहेको मोटरले ४४ पिएस पावर र १२५ एनएम टर्क दिन्छ। २६.८ केडब्लुएच ब्याट्री रहेको यो कारले एकपटकको फुल चार्जमा २ सय ७० किलोमिटर माइलेज दिनेछ।
भारतीय बजारमा सार्वजनिक हुन भने केही समय लाग्ने कम्पनीले जनाएको छ।
महिन्द्रा इकेयुभी-१००
महिन्द्राको अर्को इलेक्ट्रिक कार 'इकेयुभी-१००' समेत सन् २०२० को सुरुवातमै भारतीय बजारमा आउने भएको छ। शक्तिशाली ब्याट्री क्षमतामा आउने इकेयुभी-१०० को मूल्य १० लाख भारु तोकिने अनुमान गरिएको छ।
मारुती सुजुकी वेगनआर इभी
मारुती सुजुकीले यो वर्षको सुरुवातमै भारतमा 'वेगनआर इभी'को परीक्षण सुरु गरेको थियो। वेगनआर इभीले यही सेगमेन्टमा आउने अन्य कारसँग कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।
सन् २०२० सम्ममा सार्वजनिक हुने वेगनआर इभीको मूल्य १२ लाख भारुसम्म पर्ने बताइएको छ।
महिन्द्रा इलेक्ट्रिक सेडानमा आधारित फोर्ड एसपायर
भारतमा महिन्द्रा र अमेरिकी कार उत्पादक कम्पनी फोर्डबीच संयुक्त रुपमा सवारी उत्पादन गर्ने सम्झौता भइसकेको छ।
उक्त सम्झौतापछि महिन्द्रा र फोर्डले एकै ब्रान्डका गाडी उत्पादन गर्नेछन्। महिन्द्राले यसअघि उत्पादन गरेको 'इभेरिटो सेडान'मा आधारित रहेर दुवै कम्पनीले संयुक्तरुपमा 'फोर्ड एसपायर इभी' उत्पादन गर्ने निश्चित भएको छ।
तर, कार कहिलेसम्म सार्वजनिक हुन्छ भन्नेबारे भने कम्पनीले हालसम्म केही बताएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।