धनगढी- दसैं सकिएसँगै भारतबाट कैलालीमा अधिक मात्रामा कृत्रिम फूलमाला भित्रिने क्रम बढ्यो। तिहार सुरु भइसक्दा धनगढी, अत्तरिया, सुखड, लम्की, टीकापुर लगायतका बजार कृत्रिम फूलका माला (प्लाष्टिक र कागजका माला) ले सजिएका छन्।
कैलाली त्रिनगर भन्सारका अनुसार चालू आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि असोजसम्मको अवधिमा भारतबाट धनगढीमा ७ हजार ५ सय ४६ क्विन्टल कृत्रिम माला भित्रिएको छ। भन्सार कार्यालयका अनुसार जसको मूल्य ३० लाख ६५ हजार ४ सय रुपैयाँ हुन आउँछ।
कैलाली भन्सार कार्यालयका अधिकृत कुमार गौतमले कृत्रिम फूलमाला आयातमा १४ लाख ८१ हजार ६ सय ६१ रुपैयाँ राजस्व संकलन भएको छ। उनले धनगढीमा भारतको नयाँ दिल्ली र पलियाबाट कृत्रिम फूलमाला आयात भइरहेको बताए।
कैलाली भन्सार कार्यालयका अनुसार धनगढीमा असोज र कात्तिक महिनामा सबैभन्दा बढि कृत्रिम फूलमाला आयात हु्ने गरेको छ। गत वर्ष सोही अवधिमा कैलाली भन्सार नाका हुँदै भारतबाट १ हजार ३ सय २८ क्विन्टल कृत्रिम फूलमाला भित्रिएको थियो। सो अवधिमा ४ लाख ६१ हजार २ सय रुपैयाँ बराबरको कृत्रिम फूलमाला भित्रिएकोमा १ लाख ६४ हजार २ २२ रुपैयाँ राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयले जनाएको छ।
३ महिनामा गत आवभन्दा दोब्बर आयात
गत आर्थिक वर्ष २०७५/०७६ मा कैलाली भन्सार नाकाबाट ३ हजार ९ सय ४६ क्विन्टल कृत्रिम फूलमाला नेपाल आयात भएको थियो। भन्सार कार्यालयको तथ्यांक अनुसार आयात भएको कृत्रिम फूलमालाको खरिद मूल्य १५ लाख २८ हजार ७ सय ३२ रुपैयाँ रहेको थियो भने ५ लाख ५४ हजार १ सय ४१ रुपैयाँ राजस्व संकलन भएको थियो।
कैलाली भन्सार नाका हुँदै गत आर्थिक वर्षभर भारतबाट आयात भएको कृत्रिम फूलमालाभन्दा चालू आर्थिक वर्षको ३ महिनाको अवधिमै दोब्बर बढी आयात भइसकेको छ। भन्सार अधिकृत गौतमले तिहारका बेला फूलमालाको अत्यधिक माग हुने भएकाले आयात पनि बढ्ने गरेको बताए। उनले तिहारका लागि कृत्रिम फूलमाला आयात अझै जारी रहेको जनाए।
कृत्रिम फूलमालाबाहेक धनगढीमा केही परिमाणमा सयपत्रीका माला पनि आयात हुने गरेको छ। कैलाली भन्सार कार्यालयका अनुसार तिहारका लागि भारतबाट कृत्रिम फूलमाला, दीयो, मैनबत्ती, अगरबत्ती लगायतका सामानहरू आयात हुने गरेको छ।
कैलालीमा त्रिनगर भन्सार नाकाबाट मात्रै नभएर सत्ती छोटी भन्सार कार्यालय, गड्डाचौकी भन्सार कार्यालय र नेपालगञ्ज भन्सार कार्यालयबाट पनि कृत्रिम फूलमाला तथा मैनबत्ती, दीयो लगायतका सामान भित्रिने गरेको छ।
माग बढ्दो, उत्पादन न्यून
प्रायःले आफ्नो घरबारीमा सयपत्री, मखमलीलगायतका फूल रोप्ने गरेको भए पनि पर्याप्त उत्पादन नहुने भएकाले धनगढी सहितका सहरमा भारतबाट कृत्रिम फूलामाला आयात हुने गरेको हो। धनगढीमा पछिल्ला केही वर्षयता व्यावसायिक रुपमै फूल खेती हुने गरे पनि बजार मागअनुसार उत्पादन भने हुनसकेको छैन।
एक तथ्यांकअनुसार सुदूरपश्चिममा वार्षिक १५ देखि २० प्रतिशतले फूलको माग बढ्ने गरेको भए पनि उत्पादन निकै न्यून छ। नेपाल उद्योग वाणिज्य संघका वस्तुगत परिषद्का उपसभापति लोकनाथ गैरेले सुदूरपश्चिममा फूलखेतीको ठूलो सम्भावना रहेकोले स्थानीय जातका फूलहरूको पहिचान गरी प्रवर्द्धन गर्न सुझाउँछन्।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृत्रिम फूलमालामा चर्को कर लगाएको भन्सार अधिकृत गौतमले बताए। उनले खरिद मूल्यमा २० प्रतिशत भन्सार शुल्क र भन्सार शुल्कसहित १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लिने गरिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।