अस्पतालमा मानिसहरु बिरामी भएर उपचार गराउन जान्छन् या रोगका लक्षण देखिएमा चेकजाँजका लागि जान्छन्। बिरामी भएर जँचाउन पहिलो पटक अस्पताल पुग्नेहरु त चिकित्सक र अस्पतालबारे अनभिज्ञ नै हुन्छन्। के गर्ने, कसलाई सोध्ने, डाक्टरलाई के भन्ने जस्ता प्रश्नले उनीहरुलाई घेरिरहेको हुन्छ। विशेषगरी चिकित्सकसँग जाँचका क्रममा रोगको विषय र आफूले लिने औषधिबारे स्पष्ट कुरा हुन सकेन भने त्यसले बिरामीलाई हानी पुग्न सक्छ। डाक्टरसँग सङ्कोच नमानी आफ्ना कुरा खुलस्त राख्न सक्नुपर्छ। त्यसैले अस्पतालमा उपचार गराउन जाँदै हुनुहुन्छ भने निम्न कुरामा ध्यान दिनुहोला।
- आफ्नो रोग या समस्याबारे बिनाहिच्किचाहट चिकित्सकलाई भन्ने। यसले चिकित्सकलाई रोग पत्ता लगाई उचित उपचार विधि अपनाउन मद्दत पुग्छ।
- अरु कुनै औषधिको प्रयोग गरिरहनुभएको छ भने वा पहिले कुनै औषधि सेवन गर्दा त्यसका प्रतिअसरहरु देखा परेको भए उक्त कुराको जानकारी चिकित्सकलाई दिनुहोस्।
- चिकित्सककहाँ जाँदा पुरानो पुर्जा र उपचार सम्बन्धी अन्य कागजपत्रहरु सबै लिएर जाने।
- उपचारका लागि जाँदा जहिले पनि एकजना अभिभावक वा साथी सँगै लिएर जाने।
- चेकजाँचका लागि जाँदा आफ्ना बहुमुल्य सामान या गरगहना लगाएर नजाने। कतिपय त्यस्ता सामान निकालेर जाँच गर्नुपर्ने हुनाले तपाईंको सम्पत्ति हराउने वा छुट्ने सम्भावना रहन्छ।
चिकित्सकसँग यी प्रश्न गर्नुहोस्
- आफूलाई के रोग लागेको रहेछ?
- चिकित्सकले कुन-कुन औषधि लेखेका छन्?
- औषधि कसरी सेवन गर्ने वा प्रयोग गर्ने?
- औषधि कति पटक वा कुन समयमा र कति प्रयोग गर्ने?
- औषधि सेवन गर्दा खाने कुरा केही बार्नुपर्ने हुन्छ कि हुँदैन?
- औषधिको नराम्रो असर वा साइड इफेक्ट केही छ कि?
- फेरि जाँच गराउन आउनुपर्छ कि? आउने भए कहिले आउने? आदि आफूलाई शंका लागेका र जान्न मन लागेका सबै कुरा चिकित्सकलाई सोध्न पछिपर्नु हुँदैन।
औषधि प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
- चिकित्सकले दिएको सल्लाहा पालना गर्ने। चिकित्सकको सल्लाहबिना आफू खुसी औषधि सेवन नगर्ने।
- चिकित्सकले तोके बमोजिमको औषधि नियमित समयमा र सही तरिकाले सेवन गर्ने। आफूलाई मन लागेअनुसार बढी वा कम प्रयोग नगर्ने।
- धेरै किसिमका औषधि लिनुपर्ने भएमा, सही समयमा सही औषधि छुट्याएर मात्र सेवन गर्ने।
- औषधि सेवनले कुनै किसिमका प्रतिअसर देखिएमा तत्काल औषधि सेवन रोकेर तुरुन्तै चिकित्सकसँग वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
ध्यान दिनुपर्ने अन्य कुरा
- चिकित्सकले लेखे भन्दा फरक औषधि पसलेले भनेका आधारमा किनेर सेवन नगर्ने।
- यदि आफूले सेवन गर्नुपर्ने औषधि बजारमा उपलब्ध छैन भने चिकित्सकलाई भेटी त्यसको जानकारी गराउने र चिकित्सकले तोकेको वैकल्पिक औषधि मात्र सेवन गर्ने।
- औषधि किन्दा चिकित्सकले प्रेस्क्रिप्सनमा लेखे बमोजिम छ कि छैन भनेर यकिन गरेर मात्र किन्ने।
- औषधि किन्दा औषधिको म्याद छ कि छैन भनेर हेरेर मात्र किन्ने।
- औषधिहरु बालबालिकाले भेट्टाउन नसक्ने ठाँउमा राख्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।