काठमाडौं- विधानमा व्यवस्था भएको उमेरहद कार्यान्वयन नगरी ३२ वर्षभन्दा माथिको उमेर समूहबाट नेविसंघको तदर्थ समिति गठन गरिए आमरण अनसन बस्ने चेतावनी नेविसंघकै विद्यार्थीले दिएका छन्।
निर्वतमान केन्द्रीय समितिद्धारा जिल्ला अधिवेशन गर्न ७७ वटै जिल्ला समितिलाई दिएको निर्देशन पत्र र नेविसंघको विधानमा ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति संघको सदसय हुन पाउने छैन’ भनी उल्लेख गरिएको जनाइएको छ।
विधान–पक्षधर विद्यार्थीहरु भनि आज गरिएको पत्रकार सम्मेलनमा संघका निर्वतमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले तदर्थ समितिमा ३२ वर्षे उमेरहद कार्यान्वय नगरिए आमरण अनसन बस्ने चेतावनी दिए।
उनले पार्टी नेतृत्वलाई प्रश्न गरे,‘उमेर हद लागु गर्ने गरी २० जिल्लामा अधिवेशन भइसकेको छ। ती जिल्लाको कार्यसमिति के हुन्छ?’ अर्का विद्यार्थी नेता शुशील भट्टले भने,‘ अहिले फेरि पार्टी नेतृत्वले ३२ वर्षमाथिको नेतृत्व चयन गर्दा अधिवेसन भएका जिल्ला पदाधिकारीलाई उत्तर के दिने?’
नैनसिंह महरको कार्यसमितिले समयमा १२ औं महाधिवेसन गर्न नसकेको भन्दै पार्टीले आठ महिना अघि संघको कार्यसमिति भंग गरेको थियो।
पार्टी सभापति शेर बहादुर देउवाले तदर्थ समितिको अध्यक्षमा राजीव ढुङ्गानालाई अघि सारेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले ११ औं महाधिवेशनमा पराजित मनोजमणि आचार्यले संघको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका छन्।
तदर्थ समिति गठनका लागि तेश्रो समुहका नेता कृष्ण प्रसाद सिटौलाले मौन समर्थन जनाएपछि उनी निकटका विद्यार्थी नेताहरु नै उनी प्रति रुष्ट बनेका छन्। सिटौला निकट एक विद्यार्थी नेताले भने,‘विधान अनुरुप संघ चल्नुपर्छ भनी हामीले केन्द्रीय कार्यालयमा समेत आन्दोलन गर्यो।अहिले उहाँले नै स्वीकृति जनाउनुभयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।