एजेन्सी– 'बाहुबली' जस्तो सुपरहिट फिल्म दिएका भारतीय सुपरस्टार प्रभास आज आफ्नो ४०औं जन्मदिन मनाउँदै छन्। फिल्म बाहुबली सय करोड क्लबमा सामेल भएपछि दक्षिण भारतीय यी सुपरस्टारको चर्चा बलिउडमा मात्रै नभई संसारभरि नै चुलिएको थियो।
दक्षिण भारतीय फिल्म उद्योगमा चर्चामा रहेका प्रभासलाई २०१५ बाट मात्र सुपरस्टारको रुपमा लिन थालिएको हो। फिल्म ‘बाहुबली : द विगनिङ्ग’ रिलिज भएपछि उनी एकाएक चर्चामा आए। 'बाहुबली २' ले पनि सोही रुपमा ब्यापार गरेपछि एकाएक प्रभास भारतीय चलचित्र उद्योगमा स्टार भएर निस्के।

बाहुबलीले विश्वभरमा करिब ७०० करोड रुपैयाँ कमाउन सफल भएको थियो। बाहुबलीले भारतमा मात्र नभई विश्वभरको ध्यान तान्न सफल भएको थियो। यी चर्चासँगै प्रभासको प्रेम सम्बन्धका बारेमा पनि धेरै चर्चा भएको थियो। प्रभासको प्रेम र विवाहका बारेमा धेरै गसिप र समाचारहरु लेखिएका छन्।
एक पटक प्रभास आफूभन्दा १३ वर्ष कम उमेरकी केटीसँग विवाह बन्धनमा बाँधिदै भनेर समाचार आएको थियो। उक्त युवतीको बारेमा सञ्चार माध्यममा यति धेरै समाचार आए कि उनी आफैंले त्यसको खण्डन गर्नुपरेको थियो।

प्रभासको परिवारले यस बारेमा केही बोलेनन्। उनी यी सबै हल्लालाई बेवास्था गर्दै आफ्नो काममा केन्द्रित भए। यही हल्लाको बीचमा अर्को हल्ला भाइरल भयो। बाहुबली र देवसेना अर्थात् प्रभास र अनुष्का सेट्टीका बीचमा प्रेम सम्बन्ध रहेको समाचार चर्चामा आयो।
योसँगै उनीहरुको केही कारणले सम्बन्ध टुटेको खबर पनि आयो। यी दुवैले बाहुबली बाहेक अन्य केही फिल्ममा सँगै काम गरेका थिए। सन् २०१७ मा बाहुबली रिलिज भएपछि देश–विदेशमा प्रभासका युवती फ्यानहरुको संख्यामा वृद्धि भयो।
प्रभासलाई ५ हजार युवतीले विवाहको प्रस्ताव पठाएकाे खबर पनि चर्चामा थियो त्यतिबेला। यसलगत्तै प्रभासले कुनै व्यापारीको छोरीसँग विवाह गर्दैछन् भन्ने खबर समेत भाइरल भयो।

सञ्चार माध्यमले रासी सिमेन्टका प्रमुख भुपति राजाकी नातिनीको विवाह प्रस्ताव आएको हल्ला चलाए। यो खबरलाई प्रभासको परिवारले खण्डन गर्नुपर्ने अवस्था सिर्जना भयो।
केही समय पहिले फिल्म समीक्षक उमैर सन्धुको एक ट्विटले प्रभासका करोडौं महिला फ्यानहरुको मनमा ठेस पुर्यायो। उनको ट्विटमा लेखिएको थियो– प्रभास र अनुष्का छिट्टै विवाह बन्धनमा बाँधिदै छन्। उनले थप लेखेका थिए– प्रभास र अनुष्का डिसेम्बर महिनामा विवाह गर्ने तय भएको छ। दुवैले आफ्नो सम्बन्ध स्वीकार गरेका छन्।

सन्धुको उक्त लेखाइमा प्रभास र अनुष्का दुवैले मौनता साँधे, जसले गर्दा युवतीहरु पत्याउन बाध्य भए। फ्यानहरुको यो पर्खाइ वास्तविकतामा परिणत भएन। अन्तमा यो खबर हल्लामै सीमित भयो।
प्रभासले बलिवुडमा एक हिरोइन आफूलाई मन पर्ने बताए। उनको साथमा चलचित्र गर्ने इच्छा रहेको समेत उनले सार्वजनिक गरे। उनी थिइन् दीपिका पादुकोण। रणवीर सिंहसँग विवाह बन्धनमा बाँधिएकी दीपिकाको आफू फ्यान रहेको भन्दै प्रभासले आफ्ना महिला फ्यानहरुलाई अझै पनि आश देखाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।