काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ।
मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न पदाधिकारी बैठक बस्न लागेको बताइएको छ। शीर्ष तहका नेताहरु बिच सहमति गरी बिहीबार बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने बताइएको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘पदाधिकारी बैठकले आएका नामबारे छलफल गर्छ। उम्मेदवारको अन्तिम टुंगो केन्द्रीय समिति बैठकले गर्नेछ।’ पदाधिकारी बैठक अघि तयारीका लागि शीर्ष तहका नेताको बैठक अपरान्ह १२ बजे केन्द्रीय कार्यालयमा डाकिएको उनले जानकारी दिए।
मंसिर १४ मा देशभरका ५२ स्थानमा उपनिर्वाचन हुन लागेको छ। प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, उपमहानगर प्रमुख १, गाउँपालिका प्रमुख ४ सहित ४३ वडाध्यक्षका लागि निर्वाचन हुन लागेको हो।
कांग्रेसले हरेक पदमा आकांक्षी तीन उम्मेदवारको नाम केन्द्रमा पठाउन निर्देशन जारी गरेको थियो। क्षेत्रीय कार्यसमितिमा ३ जनाको नाममा सहमति हुन नसकेपछि आकांक्षी सबैको नाम केन्द्रमा पठाइएको छ।
धरान उपमहानगर र पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकामा भने एक/एक जनाको नाम सिफारिस गरिएको छ। उपनिर्वाचन हुने अधिकांश स्थानबाट आकांक्षी उम्मेदवारको सिफारिस नामावली प्राप्त भएको शर्माले जानकारी गराए।
पदाधिकारी बैठकमा भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनका विषय समेत छलफल हुने बताइएको छ। पार्टीले तत्कालिन कार्यसमिति भंग गरेपछि विगत ८ महिनादेखि नेविसंघ कार्यसमितिविहीन बनेको छ।
पदाधिकारी बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।