काठमाडौं- प्रतिनिधिसभाका सभामुख नहुँदा संघीय संसद्बाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम नै रोकिएको छ।
संसद् सचिवालयका कर्मचारीमाथि बलात्कार गरेको आरोपमा निवर्ततमान सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित ५ वटा विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाउने काम नै रोकिएको हो।
सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने भएकाले संसद्बाट पारित गरिएका ती विधेयकहरुको प्रमाणीकरणको काम रोकिएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।
संवैधानिक व्यवस्थाअनुसार सभामुखले दुवै सदनबाट पारित भएको विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने हुन्छ। तर, सभामुख नहुँदा ती सबै कामहरु रोकिएको अवस्थामा रहेको पनि संसद् सचिवालयले जनाएको छ।
संघीय संसद् सचिवालयले सभामुख पद रिक्त हुँदा प्रतिनिधिसभाका सांसदहरुको देशभित्र र बाहिर हुने औपचारिक कार्यक्रमहरु पनि रोकिएको स्पष्ट पारेको छ। प्रवक्ता पाण्डेले सभामुख नहुँदा संसदीय समितिका बैठकहरु पनि अघि बढ्न नसकेको जनाए।
सभामुखको निर्देशनमा बन्ने एजेन्डाका आधारमा मात्रै संसदीय समितिका कामहरु अघि बढ्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सभामुखको अभावमा संसदीय समितिका गतिविधिहरु पनि ठप्प रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले सिफारिस गरेपछि मात्रै संघीय संसद्को हिउँदे अधिवेशन राष्ट्रपतिले आह्वान गर्नेछन्। संघीय संसद् सचिवालयले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने आवश्यक तयारी भने गरिएको जनाएको छ।
प्रवक्ता पाण्डेले सभामुख निर्वाचनका लागि पनि संसद्को हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था भएको उल्लेख गर्दै त्यसका लागि सचिवालयले गर्ने प्राविधिक तयारीको कामलाई भने अघि बढाइएको बताए।
संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा महराले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त छ। उपसभामुख डा शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभाको बैठकको अध्यक्षतामा गर्ने बाहेक अन्य काम गर्न नमिल्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।