काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा बसेर समग्र स्थितिको समीक्षा गरेको बताएका छन्।
पाँचथरमा आयोजित बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सोमबार मात्रै पनि प्रधानमन्त्री ओलीसँग फेरि एउटा समझदारीअनुसार अगाडि जाने बताए।
‘सोमबार मात्रै पनि प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा बसेर समग्र स्थितिलाई अब कसरी लैजाने भनेर समीक्षा गरेका छौं,’ दाहालले भने, ‘र एउटा समझदारीमा फेरि अगाडि जाने संकल्पसहित हामी अगाडि आएका छौं। अरु होहल्ला र प्रचारबाजीको भ्रममा नपर्न म सबैलाई अपिल गर्दछु।’
दाहालले पार्टी एकताको बेला भएको सहमति कार्यान्वयनमा नआएको भए यो बिन्दुसम्म आउनै नसकिने पनि स्पष्ट पारे।
उनले सहमति कार्यान्वयनमा अगाडि बढिरहेको र अन्य समझदारी पनि महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुने विश्वास व्यक्त गरे। साथै, अध्यक्ष दाहालले कहिलेकाहीँ मिडियामा आउने एक दुई वटा विषयलाई लिएर भ्रममा नपर्न पनि आग्रह गरेका छन्।
मन्त्रिमण्डल हेरफेरको विषयमा भने उनले यो विषय प्रधानमन्त्री ओलीको क्षेत्राधिकार भित्रको विषय भएको बताए। प्रधानमन्त्री ओलीले जतिबेला चाह्यो त्यतिबेला नै मन्त्रिमण्डलको पुनःगठन हुने उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।