प्युठान- प्युठानको ऐरावती गाउँपालिका-१ माझीदमारका टीकाराम आचार्यलाई भाइको नागरिकता बनाइदिनुपर्ने भयो। भाइलाई साथै लिएर उनी सिफारिस बनाउन अमिलीमा रहेको वडा कार्यालय पुगे।
तर उनी सो दिन कार्यालयको काम सकेर घर फर्कन सकेनन्। बाटोमै बास बस्नुपर्ने भयो। भोलिपल्ट मात्र घर आइपुगे। जंगल छिचोल्दै ६ घन्टा ठाडो उकालो काटेर उनी वडा कार्यालय पुगेका थिए।
त्यस्तै, नातिनीको जन्मदर्ता र छोराबुहारीको विवाह दर्ता गराउन माझीदमारकै ६६ वर्षीय अनिराम आचार्य पनि उहीँ दिन घर फर्कन सकेनन्। एक दिनमै काम नसकिएपछि बास बसेको उनले बताइन्। 'वडा कार्यालय पुग्नै ६ घन्टा खर्चिनुपर्छ,’उनले भनिन्, 'जगलको बाटो हिड्ने हो, डर लाग्छ। सडक नहुँदा सास्ती छ। गाउँपालिका केन्द्र रहेको बरौला पुग्न थप ३ घन्टा हिड्नुपर्छ।’
आफ्नै गाउँपालिका केन्द्र बरौला पुग्न भने माझीदमारका स्थानीयले पूरै एक दिनको यात्रा तय गर्नुपर्छ। गाउँपालिकाको केन्द्र टाढा परेकाले स्थानीय तहबाटै प्रवाह हुने सेवा–सुविधाबाट समेत वञ्चित भएको गाउँबासीको गुनासो छ।
सडक नहुँदा सकस
पूर्वी दाङबाङ स्थानीयलाई गाउँपालिका केन्द्रमा पुग्न पनि झन्डै एक दिनको पैदल बाटो हिँड्नुपर्छ। अझसम्म सडकले नछोएका बस्तीहरु माझीदमार, डाबर, कुनौटे, बेलबोटलगायतका स्थानबाट गाउँपालिकाले प्रवाह गर्ने सुविधा लिन समेत लामो समयका साथै ठुलो सास्ती खर्चनुपर्छ।
पहाडी खोँचमा रहेका यी बस्तीका स्थानीयलाई वडाको सेवा लिन कम्तीमा पनि पाँच घन्टा पैदल हिडनुपर्ने बाध्यता छ। जंगलको बाटो पैदल हिँडेर वडा कार्यालय पुग्ने पर्ने अवस्था छ। वडा कार्यालयबाट हुने जन्मदर्ता, मृत्युदर्ता, नागरिकता सिफारिस लिनको लागि यस क्षेत्रका स्थानीयलाई कम्तीमा पनि दुई दिन लाग्छ।
सानो कामका लागि पनि वडा कार्यालय पुगेर फर्कंदा पूरै दिन बित्ने गरेको स्थानीयको गुनासो छ। वडा कार्यालय जाँदा आउँदै दिन बित्ने गरेको स्थानीयले दुखेसो पोखे। ‘सानो काम लिएर वडा कार्यालय पुगेर फर्कदा नै दिन बित्ने गर्छ,' आचार्यले भने, ‘हामीलाई वडा कार्यालय अति टाढा हुँदा सास्ती खेप्नु परेको छ।’
समूह दर्ता गर्न गएकी माझीदमारकी सीता पाण्डेले वडा कार्यालय पुग्न कठिनाइ रहेको बताइन्। 'युवाहरुसँगै वृद्धवृद्धालाई वडाबाट पाउने सेवा लिन झनै सकस छ। सडक नहुँदा यस क्षेत्रका झन्डै ३ सय घरधुरीका स्थानीय प्रभावित छन्,' उनले भनिन्।
'जनतालाई ऋणको भार मात्र'
दशकअघि यहाँका स्थानीयले व्यक्तिगत रकम उठाएर सडक निर्माण गरेका थिए। करिब ३० लाख लागतमा अर्घाखाँची–ऐरावती सडक बनाइएको थियो।
सरकारी क्षेत्रबाट थप रकम आउने आशमा सडकको ट्र्याक खोलिएको थियो। 'सहयोग कतैबाट मिलेन। जनता अहिले ऋणमा छन्। गाउँलेले रकम उठाएर खनेको सडक अर्घाखाँचीसँग नजिक भएपनि वडा कार्यालय जाने सडक छैन,' एक स्थानीले भने।
यस क्षेत्रलाई वडा कार्यालयसम्म जोड्ने सडक निर्माणका लागि करिब ५० लाख रुपैयाँ लाग्ने ऐरावती-१ का वडा सदस्य जीतबहादुर सारुले बताए। वडा कार्यालयदेखि दुर्गममा रहेका यी बस्तीका स्थानीयलाई सडक नहुँदा समस्या परेको उनले बताए।
विद्यार्थीलाई पनि असुविधा
ऐरावती-१ डाबरमा ५ कक्षासम्म मात्र पढाई हुन्छ। सो भन्दा माथिल्लो कक्षामा अध्ययन गर्न अमिली जानुपर्छ। बिहान ६ बजे उठेर यहाँका विद्यार्थीहरु आँखा मिच्दै जंगलको बाटो हुँदै विद्यालय पुग्छन्। राती ८ बजे विद्यालयबाट फर्कन्छन्। यहाँका करिब २ सय जना विद्यार्थीको दैनिकी यसैगरी बितेको छ।
'बिहान ६ बजे उठेर विद्यालय जानुपर्छ,' कक्षा १० मा अध्ययनरत विद्यार्थी द्रोण सुवेदीले भने।
वडा कार्यालयभन्दा प्रदेश राजधानी छिटो
यहाँका स्थानीयहरू वडा कार्यालयभन्दा ५ नम्बर प्रदेशको राजधानी बुटबलमा छिटो पुग्छन्। गाउँ नजिकै अर्घाखाँची क्षेत्रबाट नियमित सवारीसाधन आवातजावत हुने हुँदा प्रदेश राजधानी पुग्न वडा कार्यालयभन्दा सहज भएको यहाँका स्थानीयहरु बताउछन्।
'गाडी चढेर वडा कार्यालयभन्दा प्रदेशका विभिन्न मन्त्रालयहरू रहेको प्रादेशिक राजधानी बुटबल छिटो पुगिन्छ। सडक नपुगेकाले वडा र गाउँपालिकाको केन्द्र पुग्न साह्रै समस्या भएको छ,’ आचार्यले भने, 'वडा कार्यालय पुग्न एक दिन, राजधानी पुग्न एकैछिन जस्तै भएको छ।' तर आफूहरूका लागि प्रादेशिक मन्त्रालयमा खासै काम नपर्ने उनको भनाइ छ।
सडकसँगै विद्युत, सञ्चार, सिँचाईको सुविधा जरुरी रहेको यहाँका स्थानीयहरु बताउँछन्। समग्र पूर्वी प्युठानलाई तुलना गर्दा विकास निर्माणको सवालमा दाङबाङ क्षेत्र भौगोलिक विकटताको कारणले गर्दा पनि पछि परेको ऐरावती गाउपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए। वडाको समग्र विकास निर्माणका लागि गाउँपालिकाका साथै प्रदेश र केन्द्र सरकारसँग आग्रह गरिने बस्नेतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।