नयाँ दिल्ली (एजेन्सी)– विदेशी खेलाडीको तुलनामा सादा जीवन विताउने भारतीय क्रिकेटरमा सबैभन्दा पहिले विराट कोहलीको चर्चा चुलिएको थियो, जब उनी शरीरभरी ट्याटु खोपेर मैदानमा उत्रिएका थिए। उनको ट्याटुको चर्चा अहिले झन बढेको छ। कारण, उनको उत्कृष्ट फर्म हो। अहिले उनी उत्कृष्ट फर्ममा छन्।
केही समयअघि मात्र पूर्व कप्तान राहुल द्रविडले विराटको ट्याटुतर्फ लक्षित गर्दै भनेका थिए, ‘खेल उसले पनि जित्न सक्छ, जसले आफ्नो पाखुरामा ट्याटु खोपेका हुन्छन्।’
विराटले आफ्नो बायाँ हातमा थुप्रै ट्याटु खोपेका छन्। विराटलाई ट्याटुको सौख छ। एक किसिमले भन्नु पर्दा उनको आक्रामक शैलीलाई ट्याटुले नै प्रतिविम्बित गर्छ भन्दा अन्यथा नहोला।
विराटको बायाँ हातको पाखुरामा तीनवटा ठूलो ट्याटु छ। जसमा विशेष मानिन्छ, जापानी समुराई योद्धाको। जसले हातमा तलबार लिएका छन्। विराट यसलाई आफ्नो ‘गुडलक’ मान्छन्।
यसबाहेक उनको पाखुरामा शान्ति र शक्तिको प्रतिक स्तुपाको ट्याटु खोपिएको छ। विराट भगवान शिवका उपासक हुन्। यसैलाई ध्यानमा राखेर उनले बायाँ पाखुरामा कैलाश पर्वतको मानसरोवरमा ध्यानमग्न अवस्थामा रहेका भगवान शिवको ट्याटु खोपेका छन्।
आफ्नो बुवा–आमाप्रति सम्मान र प्रेम दर्शाउन उनले पाखुराको पछाडिको भागको माथी हिन्दीमा बुवा–आमाको नाम लेखेका छन्।
बायाँ हातको पाखुरामा स्वयम्भुको चैतन्य आँखाको ट्याटु पनि छ। यसैको ठिक पछाडि विराटले नकारात्मक उर्जाबाट जोगिन ओम (ऊँ) लेखेको ट्याटु खोपेका छन्।
विराटको दायाँ पाखुरामा वृश्चिक राषीको संकेतसहितको ट्याटु खोपिएको छ। योसँगै उनले चिनियाँ सिम्बल बनाएका छन्, जुन विश्वासको प्रतिक पनि हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।