काठमाडौं- संसद्की महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि सत्तारुढ दल नेकपाको उच्चस्तरीय सचिवालय बैठकले प्रतिनिधिसभा सदस्य र सभामुख पदबाट राजीनामा दिन निर्णय गरेपछि कृष्णबहादुर महरामाथि दबाब बढेको छ।
पार्टीले सिफारिस गरेको व्यक्ति भएका कारण उनले राजीनामा दिने निश्चित भएको छ। नेकपाबाट सभामुख चुनिएका महरालाई नेकपाको सचिवालय बैठकले यस्तो निर्देशन आएको हो।
सचिवालयको निर्णयपछि सम्भवतः उनले मंगलबार साँझसम्म राजीनामा दिनेछन्। 'संविधान र प्रतिनिधिसभा नियवावली २०७५' अनुसार सभामुख महराले उपसभामुखसमक्ष राजीनामा दिनुपर्ने हुन्छ। नियमावलीको नियम २११ अनुसार सभामुख महराले उपसभामुख शिवमाया तुम्बाहम्फेसमक्ष लिखित राजीनामा दिनुपर्ने हुन्छ।
‘सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्नेछन्,’ नियमावलीमा लेखिएको छ, ‘उपसभामुख वा कुनै सदस्यले आफ्नो पदबाट राजीनामा दिँदा सभामुखलाई सम्बोधन गरी दिनुपर्नेछ।’
सभामुखले दिएको राजीनामा प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउने प्रावधान छ। बैठक नचलेको अवस्थामा सचिवालयले सूचना जारी गरी जानकारी दिन सक्नेछ।
नियमावलीअनुसार उपसभामुखसमक्ष दिइएको लिखित राजीनामा स्वीकृत भइरहनु पर्दैन। यस्तो अवस्थामा राजीनामा स्वतः स्वीकृत भएको मानिन्छ।
यस्तो छ नियमावलीः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।