काठमाडौं- युएईस्थित सडक दुर्घटनामा ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ।
फस्ट सेक्युरिटीमा काम गर्ने सेक्युरिटी गार्ड बोकेर गुडेको मिनीबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीसँग ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा ज्यान गुमाउने नेपालीहरुमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेको युएईस्थित नेपाली दूतावासले जनाएको छ।
६ जना नेपालीको सडक दुर्घटनामा निधन भएको प्रति समवेदना प्रकट गर्दै नेपाली दूतावास आवुधाबीका राजदूत कृष्णप्रसाद ढकालले मृतकका लागि आवश्यक सहयोग दूतावासले गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन्।
दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुको स्थायी ठेगाना भने खुलेको छैन।
ज्यान जाने अन्यमा पाकिस्तानी र भारतीय नागरिक रहेको युएईस्थित विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
सोही दुर्घटनामा ६ जना घाइते भएका छन्।
त्यहाँको स्थानीय प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। हाल उनीहरुको दुबईस्थित अल रसिद अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।