न्युयोर्क- सयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालले गरेको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्र सङ्घ प्रतिबद्ध रहेको बताएका छन्।
राष्ट्र सङ्घको ७४औँ महासभा बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो आइतबारदेखि यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार राष्ट्र सङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा महासचिव गुटरेसले नेपालको शान्ति, स्थायित्व र लोकतान्त्रिक रुपान्तरणको खुलेर सराहना गरे। उनले नेपालको शान्ति, प्रगति र समृद्धिको कामना पनि गरे।
मन्त्री ज्ञवालीले आगामी चैतमा नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महासविच गुटरेसलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए। प्रधानमन्त्री ओलीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै महासचिवले त्यसको सकारात्मक जवाफ दिएका बताइएको छ।
परराष्ट्रमन्त्रीले राजनीतिक स्थायित्व प्राप्तिसँगै नेपाल समाजिक, आर्थिक विकासको बाटोमा अग्रसर भएको जानकारी दिँदै दिगो विकासको लक्ष्य हासिल गर्न नेपाल सरकार लागिपरेको बताए। उनले दिगो विकास हासिल गर्न स्रोत र साधनको अभाव रहे पनि लक्ष्य हासिल गरेरै छाड्ने नेपालको दृढता रहेको सुनाए।
दिगो विकास र शान्ति, जलवायु परिवर्तनजस्ता गम्भीर मुद्दाले नेपालजस्ता पर्वतीय मुलुक तथा साना टापु राष्ट्र असमानुपातिक प्रभाव घटाउन डटेर लागेको उनले जानकारी दिए। मन्त्री ज्ञवालीले राष्ट्र सङ्घसँग निरन्तर सहकार्य र साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको प्रगतिका निम्ति राष्ट्र सङ्घबाट भएको योगदानको सराहना गरे।
उनले विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि लगानी, सहश्राब्दी विकास लक्ष्यको अद्यावधिक मूल्याङ्कन, विकासका लागि लगानी, जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठक आयोजना गरेकामा महासचिवप्रति आभार व्यक्त गर्दै ती कार्यमा नेपालको सहकार्य रहने विश्वास दिलाए।
भेटमा राष्ट्र सङ्घका उपमहासचिव तथा राष्ट्र सङ्घीय शान्ति कार्य विभागका प्रमुख जाँ पिएरे लाक्र्वा र शान्ति कार्य सञ्चालन विभागका प्रमुख अतुल खरे, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्यालसहित स्थायी नियोगका वरिष्ठ अधिकारी सहभागी थिए।
‘ब्रेन गेन इनिसिएटिभ’मा मन्त्री ज्ञवाली
यसैबीच मन्त्री ज्ञवालीले इलिनोई राज्यको राजधानी शिकागोमा यही असोज १२ गते त्यहाँ रहेका अमेरिकी तथा नेपाली विद्वत वर्गसँगको भेलालाई सम्बोधन गर्दै उनीहरूको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्न आह्वान गरे।
.jpg)
परराष्ट्र मन्त्रालयले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली तथा ती देशहरुका विभिन्न विधाका ख्यातिप्राप्त व्यक्तित्व/विज्ञको ज्ञान, सीप र पुँजीको उपयोग गर्न स्थापना गरिएको 'ब्रेन गेन सेन्टर'अन्तर्गतको 'ब्रेन गेन इनिसिएटिभ' कार्यान्वयनमा नेपाललाई सघाउन अनुरोध गरे।
शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार प्रविधि, कृषि विज्ञ, वैज्ञानिक, इञ्जिनियर, चिकित्सक, प्राध्यापकलगायत करीब ७ जनाको सूची आफ्नो मन्त्रालयले ब्रेन गेन इनिसिएटिभमा समाहित गरेको जानकारी दिँदै ती विज्ञहरुको विधागत विज्ञताअनुसार नेपालमा स्वयंसेवाका लागि आग्रह गरिएको उनले बताए।
अधिकांश अमेरिकी र नेपालीलाई नेपालमा लैजाने आफ्नो प्रयास, आगामी चैतमा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादबारे समेत जानकारी दिँदै मन्त्री ज्ञवालीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई मूर्तरुप दिन भेलाका सहभागीलाई आह्वान गरे।
उनले स्वयंसेवाका लागि नेपाल आउने ती विषयविज्ञलाई परराष्ट्र मन्त्रालयले समन्वयका साथै हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
ब्रेन गेन इनिसिएटिभअन्तर्गत पहिलो चरणमा अमेरिकाबाट २० देखि २५ जना नेपालको शिक्षा क्षेत्रमा सघाउन तयार भएका छन्। निकट भविष्यमा उनीहरुले विभिन्न जिल्लाका ग्रामीण भेगमा स्वयंसेवकका रुपमा अध्यापन/तालीम दिनेछन्। (विशेष प्रतिनिधि शरच्चन्द्र भण्डारी/रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।