डडेल्धुरा- ०७१ साल जेठ २४ गते नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबादुर देउवाले डडेल्धुरालाई खुला दिसामुक्त जिल्ला घोषणा गरे। योसँगै डडेल्धुरा खुला दिसामुक्त हुने १५औँ जिल्ला बन्यो।
यति मात्र होइन सुदुरपश्चिमका ९ जिल्लामध्ये दोस्रो जिल्ला समेत डडेल्धुरा नै भयो। कुल जनसंख्या १ लाख ४२ हजार ९४ रहेको डडेल्धुरामा २०७१ सालको तथ्यांकअनुसार जम्मा २७ हजार ७ सय ४५ घरधुरीमा निजी शौचालय छ। जसमध्ये केही परिवारले संयुक्त रुपमा शौचालय प्रयोग गरेको बताएको छ।
जिल्लाभर १२ सार्वजनिक शौचालय छन्। जसमध्ये पानीको समस्या तथा पायक पर्ने स्थानमा निर्माण नगरिएकाले सदमुकाममै ४ सार्वजनिक शौचालयमा ताला लगाएको छ। प्रयोगमा रहेका पनि अव्यवस्थित रुपमा प्रयोग भइरहेको उद्योग वाणिज्य संघ डडेल्धुरा अध्यक्ष लोकराज भट्टले बताए।
डडेल्धुराका ग्रामीण क्षेत्रका गरिब तथा मुक्त हलिया परिवार घर नभई १० वर्षदेखि जंगलमा शौच गर्दै आएका छन्। उनीहरुमध्ये धेरैले अस्थायी शैचालय बनाएपनि अधिंकाश खुला दिसा नै गर्ने गरेको एक समाजिक परिचालकको भनाइ छ।
गाउँघरमा अहिले पनि महिलाहरू महिनावारी भएको समयमा शैचालय प्रयोग नगर्ने गरेको खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४ डडेल्धुराको सरसफाई सम्पर्क व्यक्ति उद्धव देउवाले बताए। कसैको घरमा धामी झाँक्री हुन्छन्, एउटै शैचालय हुन्छ। एउटै शौचालय प्रयोग गर्दा पनि हुन्छ भनेर हामीले कति जनचेतनामूलक कार्यक्रम गर्यौं, तर मान्दैनन्। उनले भने, ‘धर्म संस्कृतिलाई नीतिनियमले केही नहुँदो रहेछ, खुला दिसा उनीहरुले नै गर्छन्।’

जिल्ला सदमुकाममा थप ४ सार्वजनिक शौचालय अति आवश्यक रहेको देउवाले बताए। 'केही स्थानमा जग्गा विवाद छ, केही स्थानमा जग्गा नै छैन्,' देउवाले भने।
सदरमुकामको मुख्य व्यापारिक केन्द्रमा रहेको सार्वजनिक शौचालय आमनागरिकलाई सार्वजनिक शौचालय हो कि पसल भनी ठम्याउनै गाह्रो हुने गरेको छ।
सार्वजनिक शौचालयको प्रयोग नभई आसपासका क्षेत्रमा खुला रुपमा दिसापिसाब गर्न थालेपछि सो क्षेत्र फोहोर बन्दै गएको छ। सदरमुकाम क्षेत्रमै खुला रुपमा शौच गर्दा शौच गर्ने स्थान नै त्यही हो भनेजस्तै भान हुन थालेको बताउँछन् स्थानीय। बसपार्क नजिकैको रानीवनमा खुल्ला दिसाले दुर्गन्धित छ।
पहाडी जिल्लाको केन्द्रबिन्दुका रुपमा रहेको डडेल्धुराको बसपार्कमा दैनिकजसो धरै यात्रु तथा सर्वसाधारण आवतजावत गर्ने गर्दछन्। तर वरपर फलफूल तथा तरकारी पसल र होटल सञ्चालनमा रहेका कारण बसपार्क क्षेत्रमा रहेको एक मात्र सार्वजनिक शौचालय पनि प्रयोगमा आएको छैन।

शौचालयको दायाँबायाँ थुप्रै पसल सञ्चालनमा रहेकाले शौचालय ओझेलमा परेको र प्रयोगविहीनसमेत भएको छ।
नागरिकमा सचेतनाको कमीले र पैसा तिनुपर्ने झन्झटले गर्दा पनि सार्वजनिक शौचालयमा दिसा नगर्ने बानी बसेको व्यापारीहरुको भनाइ छ। तर, शौचालय सफा, सुग्घर राख्न र शौचालयको रेखदेख गर्न शौच गरेबापतको शुल्क उठाउनु परेको अमरगढी नगरपालिका डडेल्धुराका प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिएका छन्। उनले भने, ‘हामी आएपछि व्यवस्थित रुपमा शौचालय सञ्चालन गरेका छौं। शुल्क नगरपालिकाले उठाएको हाइन। त्यहाँ काम गर्ने कर्मचारीले उठाउँछ खान्छ।’

खुला दिसामुक्त क्षेत्र घोषणा भएपछि कार्यान्वयन तिर सम्बन्धित निकायको ध्यान नजाँदा घोषणा कागजमै सिमीत भएको छ। अहिले देश दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त क्षेत्र घोषणा भएको छ। डडेल्धुराजस्तै कागजमा मात्र सीमित हुने देखिएको छ।
स्थानीय तहका केन्द्रमा समेत छैन सार्वजनिक शौचालय
डडेल्धुराका सात वटै स्थानीय तहको केन्द्र रहेको स्थानमा सार्वजनीक शौचालय छैनन्। स्थानीय तह भएपछि जिल्ला सदमुकामभन्दा बढी सेवाग्राहीको भेट हुने कार्यालयका केन्द्रमा सार्वजनिक शौचालय नभएको स्थानीय तहले नै स्वीकारेका छन्।
४ देखि ५ घन्टाको दुरीबाट गाउँपालिका वा नगरपालिकामा आएका सेवाग्राही खुला दिसापिसा गर्न बाध्य छन्। जिल्ला सदमुकामको अमरगढी नगरपालिकाको पनि सार्वजनिक शौचालय २ किलोमिटर टाढा बसपार्कमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।