काठमाडौ- नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई सत्तारुढ दल नेकपाका कार्यकर्ताले आक्रमण प्रयास गरेका छन्।
रिसिङ गाँउपालिका भवन उद्घाटनका लागि तनहुँ पुगेका नेता रिजाललाई बाटैमा आक्रमण प्रयास गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
तनहुँको अवरोध गरेको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा कार्यकर्तामा मण्डले शैली कायमै रहेको उल्लेख गरेका छन्।
‘नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरी कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका छन्,’पौडेलको विज्ञप्तिमा भनिएको छ।
नेकपाका कार्यकर्ताहरुद्धारा मण्डले शैलीमा अवरोध गरेको उनले उल्लेख गरेका छन्। पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फासीवादी र अधिनायकवादी शैलीमा प्रस्तुत भएको उनको टिप्पणी छ।
उता नेता डा रिजालले भने बाटोमा नेकपाका कार्यकर्ताले जघन्य रुपमा आक्रमणको प्रयास गरेको बताएका छन्। 'बोतल र ढुंगामुडा पनि प्रहार गरियो। बाटोमा ट्याक्टरहरु, ढुंगा तेर्साएर घण्टौंसम्म अवरोध गरियो,' उनले भने।
'सत्तापक्षका मान्छेले अवरोध गरेर लोकतन्त्रमाथि नै प्रहार गरे। यो एउटा दुस्साहन जस्तो शासन गर्न खोजियो। अहिलेको लोकतन्त्रलाई अरु कसैबाट होइन वर्तमान सरकार र त्यसका कार्यकर्ताबाट खतरा छ। यो विभिन्न घटनाक्रमले देखाइसकेको छ। सत्तापक्षको यो कदम यो घोर आपत्तिजनक कुरा हो,' उनले बताएका छन्।
यस्तै कांग्रेस संसदीय दलले समेत आक्रमण प्रयासको निन्दा गरेको छ। 'प्रहरी एवं स्थानीय प्रशासनलाई पूर्व जानकारी हुँदाहुँदै प्रतिनिधिसभाका सदस्यलाई सुरक्षा दिन नसक्नु सरकार एवं स्थानीय प्रशासनको गम्भीर कमजोरी हो,' कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सत्ताको आडमा नेपालको संविधानलाई ठाडो चुनौती दिँदै भएको यस घृणित एवं अपराधिक कार्यप्रति नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ।'
नेकपाका कार्यकर्ताहरुले एकपछि अर्को अपराधिक घटनाहरु घटाइरहेको भन्दै उनले यस प्रकृतिका घटनाहरु तत्काल रोक्नका लागि सरकारलाई सचेत गराउँदै घटनामा संलग्न दोषीहरुलाई कानूनी कारबाही गर्न माग गरेका छन्। नेपालको संविधान प्रदत्त हक अधिकार र आधारभूत स्वतन्त्रतालाई सुनिश्चित गर्न पनि कांग्रेस संसदीय दलले माग गरेको छ।
अर्का केन्द्रीय सदस्य धनराज गुरुङले संविधानको धारा १७ मा रहेको स्वतन्त्रताको हकको फोटो पोस्ट गर्दै सो धारा नेकपाको आदेशमा खारेज भएको हो भन्दै प्रतिप्रश्न गरेका छन्। 'नेकपाको नेतृत्वलाई सोध्नै पर्ने भयो, के सिपथको प्रशिक्षणले नेकपाका कार्यकर्ताहरुलाई बैचारिक उर्जा दिन नसकेर उल्टै मण्डलेकरण बनाएको हो? संविधानको धारा १७ नेकपाको आदेशमा खारेज भएको हो?' गुरुङले प्रश्न गर्दै ट्विट गरेका छन्।
यता, नेकपाले भने घटनामा पार्टीको संलग्नता नरहेको दाबी गरेको छ। नेकपाका जिल्ला अध्यक्ष केदार सिग्देलले पार्टीगत नभै गाउँपालिकाको केन्द्रमा कहाँ राख्ने भन्ने भन्ने विवादको कारण स्थानीय बासिन्दाले अवरोध गरेको दाबी गरेका हुन्।
‘नेकपा र कांग्रेस कसले गर्यो भन्ने होइन। यो गाउँपालिकाका केन्द्र कहाँ राख्ने भन्ने विषयको विवाद हो,’ अध्यक्ष सिग्देलले भनाइ थियो, ‘यसमा पार्टीका संलग्नता छैन। स्थानीय बासिन्दाले पायक परेन भनेर अवरोध गरेका हुन्।’
रिसिङको केन्द्र ढुंगागाडे नभै पोखरी भञ्ज्याङमा केन्द्र बनाइएको भन्दै नेकपा र कांग्रेसबीच विवाद छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।