काठमाडौं- पर्वत जिल्लाका कलाकारहरूको साझा संगठन ‘पर्वत कलाकार समाज नेपाल’ले राजधानीमा भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। विजया दशमी २०७६को अवसरमा यही असोज १६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘पर्वत संगीत साँझ’ आयोजना हुने भएको हो।
‘कलाकार समाजका आदर्श हुन्’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै समाजले पहिलोपटक सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो। दिउसो २:३० बजेबाट सुरु हुने कार्यक्रममा पर्वतका चर्चित कलाकारहरू विमलराज क्षेत्री, कुलेन्द्र विश्वकर्मा, कस्तुप पन्त, अमृत क्षेत्री, कृष्ण समीप सुवेदी, याम क्षेत्री, प्रल्हाद सुवेदी, कुमार केसी लगायत काठमाण्डौ तथा मोफसलमा रहने पर्वते कलाकारहरुले प्रस्तुती दिनेछन् भने अतिथि कलाकारको रुपमा चर्चित लोक गायिकाहरु शर्मिला गुरुङ्ग र देवी घर्तीको पनि प्रस्तुति रहने छ।

पर्वत संगीत साँझमा स्वदेश तथा विदेशका नेपालीहरूको उपस्थिति रहनेछ। गैर आवासीय नेपाली संघ(एनआरएनए)का केन्द्रीय सल्लाहकार गोविन्द सुवेदी, केन्द्रिय उपाध्यक्ष कुल आचार्य, अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीसहितको टोली पनि काठमाडौं आउनेछन् भने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना प्रमूख अतिथि रहनेछन्।
त्यस्तै, पर्वत जिल्लाका जनप्रतिनिधीहरुको समेत उपस्थिति रहने बताइएको छ। उक्त कार्यक्रममा गायकद्वय कुलेन्द्र विश्वकर्मा र अमृत क्षेत्रीलाई सम्मान गरिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।