‘मान्द्रे मुन्द्रे भन्ट्याङ भुन्टुङ दीपकराज चाहिँ बुढो छ
यसपाली त दीपाश्री ब्याउने कुरो छ’
यो शुक्रबार रिलिज भएको ‘छ माया छपक्कै’ फिल्मका लागि तयार गरिएको प्रमोसनल गीतको अंश हो। यही अंशका कारण गीत सार्वजनिक भएलगत्तै विवादमा तानिएको छ।
‘दीपाश्री ब्याउने’ शब्दले आम दर्शकको ध्यान खिचेको छ। शब्दलाई अश्लील र भद्दाले प्रयोग गरिएको भन्दै सामाजिक संजालमा व्यापक टिका-टिप्पणी भइरहेको छ। गीत सुन्दा पनि त्यस्तै लाग्छ, फिल्मका निर्माता दीपकराज गिरी र गीतका गायक दुर्गेश थापाले कुनै जिम्मेवारी र संवेदनशीलतालाई ख्याल नगरिकन शब्दलाई मनमौजी ढंगले प्रयोग गरे।
यही कारण प्रमोसनका लागि तयार गरिएको यो गीतले अहिले उल्टै फिल्मको ‘डिमोसन’ गर्ने परिस्थिति सिर्जना गरेको छ। यसभन्दा अघि पनि गीतकै कारण विवादमा आइरहने दीपकराज फेरि विवादको घेरामा तानिएका छन्। गीत सार्वजनिक भएलगत्तै उनीमाथि नकरात्मक कमेन्टहरू बढीरहेका छन्।
‘छक्का पन्जा २’ताका उनी ‘ए दाजै नसमाऊ नाडीमा’ गीत कपी गरेको आरोपमा विवादमा छाएका थिए। अहिले प्रमोसनल गीतका कारण।
यतिबेला गीतमा राखिएको ‘दीपाश्री ब्याउने’ शब्दका कारण सर्वत्र आलोचना खेपिरहेका दीपकलाई यस्तो शब्द किन राखेको भनेर नेपाल लाइभले जिज्ञासा राख्दा उनले जवाफमा भने, ‘ब्याउने भनेको बिहे हुने कुरा छ भन्न खोजिएको छ। यसपाली त दीपाश्रीको बिहे हुने कुरा छ भनेको हो।’
यद्यपि यो उनको हास्यस्पद जवाफ थियो। कारण, जतिपटक गीत सुन्दा पनि दीपकराजले सपारेको शब्द भने गीतभित्र सुनिन्न।
नेपाल लाइभसँगको कुराकानीमा दीपकराजले अन्तिममा आफैंले यो शब्दलाई दोहोरो अर्थ लगाउने गरी ल्याएकाले श्रोताले त्यस्तो सुनेको बताए।
‘हामीलाई थाहा थियो, मान्छेले यो भन्छ भनेर। यो 'डबल मिनिङ' लागोस् भनेर नै गरेका हौं,’ उनको जवाफ थियो।
दीपकको यो जवाफले प्रस्ट बुझाउँछ उनी गीतप्रति सचेत र संवेदनशील छैनन्। फिल्म चलाउनकै लागि यस्तो सस्तो आइडिया अपनाएको उनको जवाफले प्रष्ट पार्छ।
तर, उनी नारी अधिकारवादीसँग भने हच्किएका रहेछन्। कुराकानीका क्रममा भने, ‘नारी अधिकारवादीले कुरा उठाए पनि गीतको शब्दले विवाह हुने भन्न खोजेको हो।’
यदि त्यो भन्न खोजेको हो भने फरक ढंगले भन्न सकिन्थ्यो नि भन्ने संवाददाताको प्रश्नमा उनले भने, ‘यो कुरामा अफ्ठेरो नपर्ने भएरै भन्न खोजेको हो। एकथरीको प्रहार के छ भने नाच्यो भने नि किन नाच्यो भन्ने, चुप लागेर बस्यो भने नि किन चुप लाग्या भन्ने। त्यसैले हामीलाई अफ्ठेरो लाग्दैन।’
यस विषयमा गीतका रचनाकार एवम् गायक दुर्गेशसँग सम्पर्क गर्दा उनले आफू स्टुडियोमा व्यस्त भएको भन्दै फोन काटे। पाँच मिनेटपछि कुरा गर्ने बताएका उनले पछि पटकपटक फोन गर्दा उठाएनन्।
खासमा यतिबेला प्रमोसनको लागि दुर्गेशको गीत चयन गर्नु नै दीपक–दीपालाई घातक भएको छ। तीजका बेला भाइरल भएको ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’का गायक दुर्गेशको गीत र चर्चालाई ‘क्यास’गर्न उनलाई रोजेपछि अहिले यही उनीहरुका लागि समस्या भइदिएको छ।
प्रमोसन गर्ने कुरामा उनीहरूले समातेको हाँगो नै गलत भएजस्तो लाग्छ। दीपक भने यो तर्कमा यस्तो जवाफ दिन्छन्, ‘म लोकगायक र लोकगीतलाई प्रयोग गर्छु। आफ्नो संस्कृतिलाई माथि ल्याउँछु। यो डबल मिनिङ नै हो।’
उनको भनाइ उनकै व्यवहारसँग बाझिएको छ। कारण, यस्तो गीतले संस्कृतिलाई माथि पुर्याउने होइन, बरु झन् विकृत बनाउने काम गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।