राजविराज– महाशिवरात्रि पर्व सप्तरी, सिरहा, धनुषा लगायतका तराईका जिल्लामा पनि विशेष रुपमा मनाइँदै छ।
जिल्लाका विभिन्न शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। सप्तरीको राजविराज स्थित हरिनन्देश्वर महादेव मन्दिरमा पनि भक्तजनको घुइँचो छ।

विभिन्न संघ/संस्था, सामुदायिक सेवा केन्द्र लगायतले बेलपत्र, पञ्चामृत तथा दूध लगायतका पूजा सामग्रीको निःशुल्क व्यवस्था मिलाएका छन्।

जिल्लाको शम्भुनाथ नगरपालिका स्थित शम्भुनाथ मन्दिर, कञ्चनरुप नगरपालिकास्थित शिवपार्वती मन्दिर, पातोको डाकनेश्वरी मन्दिर, वभनगामाकट्टिको महादेव मन्दिर, हनुमाननगरको शिव मन्दिर तथा फत्तेपुरस्थित शिवालयहरुमा पनि भक्तहरुले पूजापाठ गर्ने क्रम चलिरहेको छ।

यसैगरी सिरहा, धनुषा लगायतका जिल्लाका शिवालयमा पनि भक्तजनको भीडभाड रहेको स्थानीयहरुले जानकारी दिएका छन्।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायत ग्रन्थमा वर्णित छ। शिवरात्रिमा भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।