काठमाडौं– फिल्म वृत्तमा सर्वविदितै छ, दीपकराज गिरी र अशोक शर्माबीच राम्रो सम्बन्ध छैन। दुवै फिल्म निर्माता हुन्। अघिल्लो वर्षको दसैंमा दीपकको ‘६क्कापन्जा ३’ र अशोकको ‘जय भोले’ दसैंअघि करिब एकै समयमा रिलिज भएको थियो।
त्यतिबेला एक हप्ताको फरकमा फिल्म रिलिज हुँदा व्यापारिक हिसाबले दुवैलाई थोरबहुत घाटा भएको थियो। फिल्म रिलिजका लागि दुवैलाई दसैं नै चाहिएपछि दुवैविच त्यतिबेला ठूलो द्वन्द्व देखापरेको थियो। दुवै एकअर्काको खैरो खन्थे, कटाक्ष गर्थे।
सम्बन्धमा अघिल्लो साल देखिएको त्यो दरारले यसपाली पनि निरन्तरता पायो। कारण– उही दसैं। दीपकले ‘६ माया छपक्कै’ र अशोकले आफ्नो छोरालाई हिरो खेलाएर बनाएको ‘रातो टीका निधारमा’ दसैँमा रिलिज गर्न खोजेपछि दुवैबीच ‘इगोको लडाईं’ देखाइपर्यो।
अन्ततः यो लडाईंमा यसपाली दीपक नै पछि हट्नुपर्यो। पुराना फिल्मकर्मी, हलवाला एवम् वितरकसमेत रहेका शर्माका अगाडि उनको केही लागेन। उनले आफ्नो फिल्म दसैंपछि रिलिज गर्न बाध्य भए, यता अशोकको फिल्म शुक्रबार अर्थात् भोलिबाट रिलिज हुँदैछ।
अघिल्लो साता ‘छ माया छपक्कै’को ट्रेलर रिलिज कार्यक्रममा पत्रकारहरुले दीपकलाई सोधेका थिए, ‘अशोक शर्माका कारण फिल्म असोज २४ मा पुगेको स्वीकार गर्नुहुन्छ?’
त्यतिबेला उनले निर्देशक शर्मालाई व्यंग्य गर्दै भनेका थिए, ‘यसपटक म अलि भावनात्मक भएँ। किनकि, उहाँले छोरालाई फिल्ममा डेब्यू गराउनुभएको छ। उहाँलाई शुभकामना छ। छोरा बोकेर आएका माता र पितासँग के झगडा गर्नु भनेर म नै पछाडि सरेँ। उहाँको छोराको भविष्य राम्रो होस्।’
फिल्म क्षेत्रमा बढीरहेको ‘नेपोटिज्म’ अर्थात् नातावाद विरुद्ध केही समयअघि उनले कडा टीप्पणी गरेका थिए, ‘विश्वभर नै नेपोटिज्मको ट्रेन्ड भएकाले मलाई त्यति दुःख लाग्दैन। त्यही पनि म के कुरामा ढुक्क छु भने क्रिकेटर सचिन तेन्दुल्करको छोरोले बाबु क्रिकेटर भएका कारण सजिलै ब्याट त समात्न सक्छ तर सचिनकै छोरा भएका कारण मैदानमा टिकिरहन भने सक्दैन।’
त्यसैले दीपकको त्यो व्यंग्य अशोककै छोरा अंकित शर्माप्रति लक्षित थियो भनेर अनुमान गर्न त्यति गाह्रो भएन।
शुक्रबारबाट रिलिज हुने तयारीमा रहेको ‘रातो टीका निधारमा’लाई बिहीबार(आज)बाटै धेरै फिल्मकर्मीले शुभकामना दिइरहेका छन्।
अशोकका छोरा अंकितलाई ‘भतिज’को सम्बोधन गर्दै उनीहरुले अग्रिम शुभकामना दिइरहेको हुन्। यसरी शुभकामना दिनेमा अघिल्लो हप्ताबाट हलमा उत्साहपूवर्क प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’का निर्देशक रामबाबु गुरुङ पनि पर्छन्।
अचम्म त त्यतिबेला भयो, जब दीपकराज स्वयंले पनि शुभकामना दिएका छन्, त्यो पनि अंकितलाई ‘छोरा’ सम्बोधन गरेर। फेसबुकमा ‘रातो टीका निधारमा’को पोस्टर राख्दै टाइमलाइनमा उनले लेखेका छन्, ‘शुभकामना छोरा अंकित शर्मालगायत सम्पूर्ण रातो टीका निधारमा समूहलाई...!!!’
.JPG)
सँगसँगै अर्को स्टाटस लेखेर शुक्रबार ‘रातो टीका निधारमा’ रिलिजकै दिन आफ्नो ‘छ माया छपक्कै’को प्रमोसनल गीत ‘बिच बिचमा...’ रिलिज गर्ने जानकारी पनि गराएका छन्।
अब आफै सोच्नुस्, दीपकको ‘छोरा’ सम्बोधनसहितको शुभकामना अशोकप्रतिको कटाक्ष हो या मनैदेखिको शुभेच्छा?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।