बुटवल- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताएका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको 'तिलोत्तमा लगानी सम्मेलन'को उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको दाबी गरेका हुन्।
उनले विदेशी लगानीकर्ताहरुले चासो व्यक्त गरिरहेको भन्दै लगानीकर्तालाई सहज हुनेगरी वातावरण तयार गर्न सरकारले भूमिका निर्वाह गरिरहेको जनाए। ‘लगानीको निम्ति भौगोलिक र अन्य सबै हिसाबले पनि वातावरण बनेको छ,' उनले भने, 'लगानी भित्र्याएर मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक कार्यभार हामीमाझ आएको छ, यसलाई हामीले उचित ढंगले काम गर्न सक्नुपर्छ।’
तिलोत्तमा नगरपालिकाले मुलुकलाई नै लगानीका लागि उपयुक्त छ भन्ने सन्देश दिएको भन्दै नेकपाका अध्यक्षसमेत रहेका दाहालले रुपन्देही क्षेत्र मुलुककै व्यापार, व्यवसायका निम्ति महत्वपूर्ण द्वारका रुपमा उपयुक्त रहेको जिकिर गरे।
‘यो सम्मेलनलाई मुुलुकले पनि राम्रैसँग हेरेको छ,' उनले भने, 'तिलोत्तमाको यो प्रयासलाई संसारले पनि हेरिरहेको छ, यसले दीर्घकालीन महत्व राख्छ, यसबाट अरु स्थानीय तहहरुले पनि सिकुन्।’

उनले नेकपाले सरकारको नेतृत्व लिएको डेढ वर्षमात्रै भएको भन्दै धेरै नकारात्मकता नफैलाउन आग्रह गरे।
‘हामीले नेतृत्व गरेको डेढ वर्षमात्रै भएको छ, धेरै नकारात्मकता फैलाउने काम नगरौं, २ सय ५० वर्षसम्मको फोहोर पखाल्न समय लाग्छ, धैर्य गरौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।