शरीरका हरेक अंग आयुअनुसार कमजोर र बृद्द्ध हुँदै जान्छन्। त्यसमध्ये मानिसको दाँत पनि उमेरसँगै कमजोर र झर्ने क्रम सुरु हुन्छ। खाना चपाउनका लागि नभई नहुने दाँत सुन्दरताका लागि पनि उत्तिकै महत्वपूर्ण छ। बढ्दो उमेरसँगै र रोग लागेर दाँत झर्ने समस्याले धेरैलाई सताएको हुन्छ। यद्यपि दाँतको उपचारका लागि धेरैले साचो दिएको पाइँदैन।
'दाँत झरी त हाल्यो, किन अर्को कृत्रिम दाँत राख्नु र' भन्ने सोचाइले धेरैको मनमा जरा गाडेको हुन्छ। धेरै मानिस यो झन्झट किन लिने भन्दै बसेका हुन्छन्। यसो हुनुमा दाँत तथा मुखको स्वास्थ्यबारे चेतनाको कमी नै प्रमुख कारण हो। दाँत नहुँदा कस्ता-कस्ता नकारात्मक असर पर्छन् भन्ने जानकारी धेरैलाई हुँदैन। जसले गर्दा दाँत झर्दा दन्त चिकित्सक कहाँ गएर आफ्नो अवस्था अनुसार नक्कली दाँत लगाउने खाँचो महसुस नभएको हुन सक्छ।
दाँत नहुँदाको मुख्य असर खानेकुरा चपाउन र सौन्दर्यमा पर्छ। मुख वरिपरिको छालालाई सहायता गर्ने दाँत नभएपछि छाला चाउरी पर्ने, गाला डुबेको देखिने र मानिस आफ्नो उमेरभन्दा पाको देखिने गर्छ। मानिसको सुन्दरताले आत्मविश्वास र सामाजिक जीवनमा असर पार्छ।
दाँया-बाँयाको दाँत नहुँदा, मुखमा रहेका बाँकी दाँत बाङ्गोटिङ्गो हुन जान्छ। दाँत ढल्किँदै जान्छ, जसले गर्दा दाँतको जरा निस्क्रिय भई दाँत पनि अस्थिर हुन्छ।
दाँतको अभावमा मानिसको बोली प्रस्ट नहुने समस्या आउन थाल्छ। विशेषगरी अगाडिको दाँत नहुँदा मानिसलाई केही शब्दको उच्चारणमा समस्या आउँछ। हरेकपटक बोल्दाखेरि सुसेली बजाएजस्तो आवाज निस्किने हुन सक्छ।
खाना टोक्न र राम्रोसँग चपाएर खान नसक्नाले, प्रायःजसो मानिस कि कम खान थाल्छन् कि नरम खानेकुरा मात्र खाने गर्छन्। चपाउनुपर्ने चिन्ताले धेरै खानेकुरा खान छोडेपछि मानिसको शरीरमा पौष्टिक आहाराको कमी हुन सक्छ। यसरी दाँत नहुनाले केवल मुखलाई मात्र नभएर पूर्ण शरीरलाई नै हानी पुग्छ।
झरेको ठाउँमा अर्को दाँत नलगाएमा त्यस ठाउँको हड्डी खिइँदै जान थाल्छ। माथिल्लो बाङ्गारा निकालेमा पिनास फैलिने डर हुन्छ। यस्तै, दन्त नलीको हड्डी पनि खिइँदै जान्छ। झरेको दाँतको वरिपरिका स्वास्थ्य दाँत पनि हल्लिने वा गिजामा समस्या देखा पर्ने हुन्छ।
झरेको दाँत समयमै प्रतिस्थापान नगरेमा यस्ता धेरै नकरात्मक असर पर्छन्। त्यसैले दाँत झर्यो भनेर चुप लागेर बस्नुभन्दा दन्त चिकित्सकसँग सल्लाह गरेर नक्कली दाँत लगाउनु फाइदाजनक छ। केही दाँत झरेको भए स्थायी आंशिक बनावटी दाँत राख्न सकिन्छ। यसैगरी, निकाल्न र फेरि लाउन मिल्ने आस्थायी दाँतको प्रयोग गर्न पनि सकिन्छ।

अगाडि पछाडि दुवैतिरको दाँत स्वस्थ्य अवस्थामा भएमा दन्त नली हड्डीमा 'इम्प्लान्ट' नि राख्न सकिन्छ। एउटाभन्दा बढी दाँत नभएमा इम्प्लान्टको सहायतामा स्थयी बनावटी दाँत पनि लगाउन सकिन्छ। यदि पूर्ण रुपमा दाँत झरेको छ भने सम्पूर्ण बनावटी दाँतको प्रयोग गर्नुपर्छ। शरीरमा केही रोग छ र जसका कारण शल्यक्रिया गर्न नहुने छ भने बनावटी दाँत सबैभन्दा उपयुक्त हुन्छ। सामान्य अवस्थामा भने इम्प्लान्टको सहायताले सम्पूर्ण बनावटी दाँत राख्न सकिन्छ।
कृत्रिम दाँत लगाउन चाहनेलाई एकभन्दा बढी विकल्पहरु छन्। तसर्थ, दाँत झरेपछि सकेसम्म चाँडो कृत्रिम दाँत लगाउनुपर्छ। कृत्रिम दाँतले मुखको सुन्दरतालाई कायमै राख्छ भने खानेकुरा चपाउनका लागि पनि मद्दत मिल्छ। मुखको स्वास्थ्य, समय र आर्थिक अवस्था हेरेर झरेर गएको दाँतको ठाउँमा बनावटी दाँत अवस्य लगाउनु होला। कृत्रिम दाँत लगाउनु कुनै ठूलो उपचार विधि होइन, त्यसैले धेरै आत्तिनुपर्ने अवस्था हुँदैन।
दाँत उपचारमा नयाँनयाँ प्रविधि भित्रिँदै गएका छन्। जसले मुख तथा दाँतको स्वास्थ्यमा ठूलो प्रगति भइरहेको छ। हाम्रा सामुन्ने भएका प्रविधिलाई उपयोग गर्न किन पछि पर्ने? समय आएपछि दाँत झरिहाल्छ नि भनेर बस्नु भनेको तपाईंको मुखको सँगसँगै समग्र शरीरकै स्वास्थ्यमा खराबी बढ्दै जानु हो। दन्त चिकित्सकहरुसँग सल्लाह लिन र आफ्नो समस्याअनुसारको समाधान खोज्न ढिलाइ नगर्नु होला।
(डा. भट्टराई कान्तिपुर डेन्टल हस्पिटलमा कार्यरत छिन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।