पर्सा- सवारी साधनको पार्टपुर्जा बिक्रीको आडमा मुद्राको अवैध ओसारपसार (हुन्डी)को कारोबार गर्दै आएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
वीरगन्जको लिंकरोड स्थित न्यू दक्षिणकाली अटो मोबाइल्समा छापामारी प्रहरीले ५५ लाख ६४ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मुख्य कारोबारी भारत बिहार रक्सौल निवासी रितेशकुमार गुप्ता भनिने अग्रवाल, लिंकरोड निवासी राजेश रौनियार, ठेगाना खुल्न नसकेका विमित अग्रवाल र मनोज पटेललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए।
न्यू दक्षिणकाली अटोमोबाइल्सबाट अवैध रकम ओसारपसार हुने गरेको पूर्वसूचनाको आधारमा छापामारी गर्दा कारोबारमा संलग्न दुई दर्जन बैंकका चेकबुक, दुई बोरा खाता, ६ थान मोबाइल र नगद बरामद भएपछि आवश्यक अनुसन्धानका लागि चारैजनालाई नियन्त्रणमा लिइएको उपरीक्षक रेग्मीले जानकारी दिए।
प्रहरी नियन्त्रणमा रहेकामध्ये भारतीय नागरिक रितेश मुख्य कारोवारी र अन्य सहयोगी रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताए। रितेशले वीरगन्जमा बुझेको रकम अवैधरुपमा अमेरिका, युएई, हङकङ, सिंगापुर, भारतलगायतको देशमा उपलब्ध गराउँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
अटोमोबाइल्सबाट बरामद भएको सामान र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पक्राउ परेकामाथि संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।