विराटनगर– मोरङको सुन्दर हरैँचा नगरपालिका–४ वडरा खाप गाउँका रमेश ऋषिदेव दुई साताअघि छोरी मालतीको नागरिकता बनाउन सिफारिसका लागि वडा कार्यालय पुगे।
सिफारिसको निवेदन वडाध्यक्ष शैलेन्द्र श्रेष्ठको टेबलमा पुग्यो। श्रेष्ठले निवेदनमा तोक लगाउनुअघि नागरिकता लिने व्यक्तिको पहिचान गर्न खोजे। तर, कार्यालयमा रमेश र ४/५ वर्षकी जस्ती बालिकाबाहेक तेस्रो व्यक्ति नदेखेपछि वडाध्यक्ष श्रेष्ठले प्रश्न गरे, ‘नागरिकता लिने मान्छे खोइ?’
रमेशले तत्कालै बालिकातिर देखाउँदै भने, ‘उही हो हजुर! मेरी छोरी मालती।’
अध्यक्ष छक्क परे। मानसिक रोगी सम्झेर हातमा निवेदन थमाउँदै सम्झाए, ‘बच्चाको नागरिकता बन्दैन, १५ वर्षपछि आउनु होला!’ तर रमेशले सिफारिस नलिई नजाने ढिपी कसे र मालती बच्चा नभई २४ वर्ष पुगेको दाबी गरे।

२४ वर्ष भन्नासाथ श्रेष्ठको मनमा चिसो पस्यो। नियालेर हेरे। मालतीको अनुहारले उनी बच्चा नभएको प्रस्ट्यायो। मालतीको उचाइ र तौल नापे, उचाइ ३२ इन्च र तौल १४ केजी। श्रेष्ठले तुरुन्त स्थानीय सञ्चारकर्मीलाई बोलाए र मालतीको बारेमा जानकारी दिए। मालती नेपालकै होचो व्यक्ति हुन सक्ने भन्दै प्रचार–प्रसार सुरु भयो।
यतिबेला देशभर मालतीको चर्चा छ। स्थानीय तथा राष्ट्रिय मिडियामा मालतीको समाचारले प्राथमिकता पाउन थालेको छ भने बडरा खापको मुसहर (ऋषिदेव) बस्तीमा मान्छेको ओहोर–दोहोर बढेको छ।
‘बिहानदेखि बेलुकासम्म मान्छे आइरहन्छन्,’ छिमेकी मिनु ऋषिदेवले भने, ‘करिब दुई सातादेखि मालतीलाई हेर्नेको घुइँचो घटेको छैन।’
मालती आफ्नै गाउँ–छिमेकी भएको भन्दै स्थानीय पनि दंग छन्। नगरपालिका र वडाका पदाधिकारीले मालतीलाई ‘आफ्नो ठाउँको गहना’ भन्दै प्रचार गरिरहेका छन्।
तर, खुसीका बीचमा पनि मालतीको परिवार भने चिन्तित छ। रमेशकी माइली छोरी भागो (१९) र छोरा सुरेन्द्र (१७) को अवस्था सामान्य छ। भागो एक सन्तानकी आमा हुन् भने सुरेन्द्र पनि बाबुलाई काम सघाउने भएका छन्। जेठी छोरीको शारीरिक तथा मानसिक विकास रोकिएको बुझेका रमेश भन्छन्, ‘मान्छेहरु त आफ्नो खुसीका लागि आउने हुन्, मलाई चैं छोरीको भविष्यको चिन्ता छ।’ जति हेर्ने मान्छे आउँछन्, उती नै आफ्नो मन छट्पटिने गरेको उनको दुखेसो छ।

‘मान्छेका लागि सर्कस जस्तो छ। गाडीमा आउँछन्, हातमा एक सय रुपैयाँ दिन्छन्, अनि बोकेर फोटो खिचाउँछन्,’ उनले भने, ‘उनीहरु त प्रशंसा गर्दै फर्किन्छन् तर म चाहिँ तड्पिन्छु।’
मान्छेको अगाडि हाँस्नु परे पनि राति निद्रा लाग्न छोडेको उनको भनाइ थियो। ‘ज्याला मजदुरी गरेर सबैलाई पालेको छु,’ रमेश भन्छन्, ‘अरुले त जसोतसो गरी खालान्, तर म बितेपछि मालतीको अवस्था के होला?’
बुढी खोला किनारको ऐलानी जग्गामा झुप्रो बारेर बसोवास गर्दै आएका उनले ज्याला मजदुरी र खोलामा बालुवा चालेर जिवीकोपार्जन गरिरहेको बताए।
वडाध्यक्ष श्रेष्ठ पनि रमेशको भनाइमा सहमत छन्। रमेशकी पत्नी मीना गर्भवती हुँदा पर्याप्त खान र स्वास्थ्य जाँच गर्न नपाएको र उमेरअनुसार शारीरिक विकास नहुँदा चेकजाँच गराउने खर्च र चेतना नहुँदा मालतीको अवस्था यस्तो भएको हुन सक्ने उनको अनुमान छ। ‘अस्पताल लगेर चेकजाँच गराउने प्रयास गरिरहेका छौं, फुर्सद मिलेको छैन,’ उनले भने। नगरपालिकाले मालतीलाई मासिक २ हजार भत्ता दिने घोषणा गरेको छ।
रमेश मात्र होइन, उनकै छिमकी झल्लु र गुन्नी ऋषिदेवको पनि अवस्था उस्तै छ। तीन छोराछोरीमध्ये जेठी छोरी ४० वर्षीया मुसर्नी जन्मजात अपांग छिन्। दुवै हात र बायाँ खुट्टा चल्दैन। दायाँ खुट्टाको सहाराले चम्चाले खाना खाने गरेकी मुसर्नीको मानसिक अवस्था पनि सन्तोषजनक छैन।

करिब ६० घर मुसहर (ऋषिदेव) परिवार बसोवास गर्ने बडरा खाप गाउँका रमेश र झल्लु प्रतिनिधि पात्र मात्र हुन्। अधिकांशको अवस्था उनीहरुको भन्दा फरक छैन। फरक छन्, मालती र मुसर्नी मात्र।
‘ऐलानी जग्गामा बसोबास गर्ने सबै मुसहरको आर्थिक अवस्था कमजोर छ। ज्याला, मजदुरी र बालुवा गिट्टी नै उनीहरुको पेशा हो,’ वडाध्यक्ष श्रेष्ठ भन्छन्, ‘७ कक्षा पास गरेका युवायुवती गाउँमा पाउन मुस्किल छ।’
वैजनाथपुरमा पुनरावृत्ति : प्रकाश सरदार
नेपालकै होचो व्यक्ति भनेर मालतीको चर्चा चुलिएसँगै एक साताअघि विराटनगर–१९ वैजनाथपुरस्थित नहर टोलका २१ वर्षीय प्रकाश सरदार एकाएक चर्चामा आए। ३० इन्च उचाइ र १३ केजी तौल भएका प्रकाश नेपालकै सबैभन्दा होचो व्यक्ति भनेर यतिबेला चर्चा चलिरहेको छ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गाउँमै पुगेर प्रकाशलाई मासिक ३ हजार भत्ता दिने घोषणा पनि गरे। उनी मालतीभन्दा २ इन्च होचा छन्। नकुवा र विमला सरदारको तेस्रो सन्तानका रुपमा जन्मिएका प्रकाश सामान्य हिँडडुल गर्छन्। आफन्त, छरछिमेकीसँग बोलचाल गर्छन्। तर, शारीरिक, मानसिक र आर्थिक रुपमा कमजोर भएकाले विद्यालय जान सकेनन्।

पिता नकुवाको १० वर्षअघि मृत्यु भयो। दाँत फुकाल्दा घाउमा इन्फेक्सन भएर क्यान्सर भएपछि उपचारकै क्रममा उनको मृत्यु भएको थियो। आमा विमलाले मजदुरी गरेर सिंगो परिवारको लालनपालन गरिन्। यसै क्रममा विमलालाई अर्को चोट प¥यो। नहरमा नुहाउन गएका माइला छोरा विमलले त्यही प्राण त्यागे। ‘डुबुल्की लगाउने क्रममा धारिलो वस्तुले पेट चिरेर आन्द्राभुँडी सबै बाहिर निस्कियो,’ वडा सदस्य जितेन्द्र खवासले घटना बारे सुनाए, ‘क्षतविक्षत अवस्थामै उसको निधन भयो।’
एक वर्षअघि जेठी बुहारी सानीको समेत निधन भएपछि उनको परिवारमा अर्को बज्रपात पर्यो। ‘बच्चा जन्माउन नसकेर अप्रेसन गर्दा सानीको मृत्यु भयो,’ १ वर्ष पुग्नै लागेको सानीको छोरो सिद्धान्तलाई देखाउँदै उनले भनिन्, ‘फागुन ६ गते सिद्धान्त जन्मियो, पेट फुल्दै गएर ७ गते उनको मृत्यु भयो।’
विमलाको परिवारमा अब जेठा छोरा श्यामसुन्दर, प्रकाश र सिद्धान्त गरी ४ जना छन्। तर पनि उनीहरूलाई जीविका चलाउन मुस्किल छ। मजदुरी गरेको पैसाले परिवार कहिलेसम्म धान्ने भन्ने सवाल त सामान्य भयो, प्रकाशको पालन पोषण कसरी होला भन्ने चिन्ताले विमलालाई सताउने गरेको छ।

समाजसेवी बलबहादुर खवासले नामसारी गरिदिएको १० धुर जग्गामा घर बनाए पनि कमाइखाने खेतबारी नहुँदा रातदिन अर्काको अगाडि हात पसार्नुपर्ने अवस्था आएको उनले दुखेसो गरिन्। आफू लगायत नहर टोलमा बसोबास गर्ने ५३ घर सरदार परिवारलाई बलबहादुरले नै जग्गा दिएर बसोवास गराएको विमलाले बताइन्। वडा सदस्य खवासका अनुसार सरदार परिवारले भोगचलन गर्दै आएको करिब १ विगाह ५ धुर जग्गा बलवहादुरले नामसारी गरिदिएका छन्।
कुपोषण, अभाव, अशिक्षाजस्ता समस्या मोरङका मुसहर बस्तीको नियति हो। उनीहरु दुःखजिलो गरेर गुजारा चलाइरहेका हुन्छन्। बडरा खाप र नहर टोलमा ‘होचा’ मान्छेलाई हेरेर अचम्म मान्नेहरु जति हुन्छन्, मुसहर परिवारको जीवन गुजाराको होचोपन भने कसैले वास्ता गर्दैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।