काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुःखबाट मुक्त गराउने तीन उपाय सुनाएका छन्।
प्रधानमन्त्री ओलीले विद्धान् र वीर पुर्खाका जीन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउने उपाय बताए।
‘नेपाली जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन। तीन वटा कारण छन्, जसले नेपाल पछाडि पर्नुपर्ने आवश्यक्ता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विद्धान् पुर्खाका सन्तान हौं, विद्धान् र वीर पुर्खाका सन्तानको जीन हामीसँग छ। दोस्रो, प्राकृतिक हिसाबले हाम्रो देश सुन्दर मात्रै होइन, अत्यन्तै स्रोत सम्पन्न छ, प्राकृतिक हिसाबले धनी छ। अर्को, अहिले पनि हामीसँग क्रियाशील युवा जनसंख्या ठूलो छ। त्यसकारण नेपाली जनतालाई यी तीन वटै स्रोतको माध्यामबाट विकास गरेर दुःख पाइरहनुपर्ने अवस्था अन्त्य गर्न सकिन्छ।’
सातौं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको प्रयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउने आधार र अवसर रहेको पनि स्पष्ट पारे। उनले भारतको मोतीयारीबाट अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइनमार्फत तेल ल्याउन सम्भव भएको दृष्टान्त पेस गर्दै त्यसरी नै विज्ञान र प्रविधिको उपयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने पनि बताए।
प्रधानमन्त्री ओलीले युवा वैज्ञानिकहरुलाई उत्साहका साथ काम गर्न पनि आग्रह गरे।
सरकारले वैज्ञानिकहरु तथा विज्ञान र प्रविधिसँग सरोकार राख्ने सबै समूहमा उत्साह वृद्धि गर्ने उद्देश्यका साथ विज्ञान शिक्षामा योगदान पुर्याउने काठमाडौंको ठमेलस्थित अमृत साइन्स क्याम्पसको स्थापनाको अवसर पारेर हरेक वर्ष असोज १ गते यो दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सुरु गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।