काठमाडौं- सोलुखुम्बुको लुक्लाबाट उडेका ४ हेलिकोप्टर काभ्रेमा धान खेतमा आकस्मिक अवतरण गरिएको छ।
सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलबाट उडेका ४ वटा हेलिकोप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएका पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले जानकारी दिए। उनका अनुसार हेलिकोप्टरको आकस्मिक अवतरण भए पनि यात्रुहरुको अवस्था भने सामान्य रहेको छ।
कैलाश र मनाङ एयरका एक/एक वटा र सिम्रिक एयरका दुईवटा गरी ४ वटा हेलिकोप्टरले आकस्मिक अवतरण गरेका थिए। जसमध्ये सिम्रिक एयरको एउटा हेलिकोप्टरले भने पुन काठमाडौंका लागि उडान भरेको खरेलले बताए।
आज बिहान करीब ७ बजेतिर नगरपालिकाको वडा नं २ हर्से र वडा नं १ र २ को सिमाना जोरपाटीमा ४ वटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ।
वडा नं २ का वडाध्यक्ष हरि खतिवडाका अनुसार हेलिकोप्टरमा सवार १८ यात्रुमध्ये १६ विदेशी र २ नेपाली रहेका छन्। उनका अनुसार यात्रुहरुसँग गरिएको कुराकानीका आधारमा लुक्लाबाट काठमाडौंका लागि उडेका हेलिकोप्टरमध्ये दुईवटा काठमाडौंमा सकुशल अवतरण गरिसकेका र ४ वटा भने पाँचखालमा अवतरण गरिएको हो।
जोरपाटी र हर्सेमा अवतरण गरिएका हेलिकोप्टरमध्ये दुई वटाका चालक दल नेपाली र दुई वटाका विदेशी रहेका वडाध्यक्ष खतिवडाले बताए।
अहिले पनि सो क्षेत्रमा पानी परिरहेको र कुहिराले ढोकिएको अवस्था रहेको खतिवडाले जानकारी दिए।
उता मौसममा खराबी आएपछि साोलुखुम्बुको लुक्लाका लागि आज कुनै पनि उडान हुन सकेको छैन। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आज कुनै पनि उडान हुन नसकेको टिआइएका टावर कन्ट्रोल प्रमुख सिताराम भण्डारीले बताए।
उनका अनुसार लुक्ला-काठमाठौं तथा काठमाडौं-लुक्ला गरी दुईतर्फी उडान नै ठप्प छ। आइतबार देखि नै मौसममा खराबी आएपछि नियमित उडान प्रभावित भइरहेको उनको भनाइ छ।
आइतबार यी दुवै रुटमा कुनै पनि उडान हुन सकेको थिएन। सोमबार केही उडान भए पनि मंगलबार पूर्णरुपमा मौसम प्रतिकूल भएपछि उडान ठप्प भएको भण्डारीले बताए।
केही दिनयता बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढिरहेको छ। जसका कारण अहिले पूर्वी तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ भने बाँकी भूभागमा पनि आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
(तस्बिर- सरोज श्रीको ट्विटर ह्यान्डलबाट साभार)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।