कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफूले प्राप्त गरेको ‘प्लेयर अफ द म्याच’ पुरस्कारबापतको शतप्रतिशत रकम सडकका जनावरको संरक्षणमा खर्च गर्ने घोषणा गरेका छन् ।
बिहीबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि सोमपालले सामाजिक सञ्जालमार्फत पुरस्कार रकम सृजना ठकुरीलाई सहयोगस्वरूप दिने बताएका हुन् । उक्त रकम सडकमा रहेका जनावरको संरक्षण र सहायतामा खर्च गरिने उनले उल्लेख गरेका छन् ।
‘आजको रात क्रिकेटमा मात्र सीमित थिएन । जब तपाईंलाई किनारामा धकेल्ने प्रयास गरिन्छ, तब हार मान्ने होइन, मैदानमै आफ्नो प्रदर्शनबाट जवाफ दिनुपर्छ,’ उनले लेखेका छन्, ‘उत्कृष्ट प्रदर्शन गर्न पाउँदा अविश्वसनीय महसुस भइरहेको छ । तर व्यक्तिगत उपलब्धिभन्दा पनि आफ्नो कर्णाली याक्स परिवारको जितमा योगदान दिन पाउनु मेरा लागि महत्त्वपूर्ण छ ।’
उनले कर्णाली याक्सको जर्सी लगाएर फ्रेन्चाइजका लागि खेल्न पाउनु सम्मानको विषय भएको बताएका छन् । साथै आफूलाई साथ दिने र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
‘हरेक सानो पाइलाको पनि महत्त्व हुन्छ,’ सडकका जनावरको संरक्षणबारे उनले लेखेका छन् । उनले आगामी खेलमा पनि यही लय कायम राख्दै अघि बढ्ने बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।