काठमाडौं- मौसममा खराबी आएपछि साोलुखुम्बुको लुक्लाका लागि आज कुनै पनि उडान हुन सकेको छैन। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आज कुनै पनि उडान हुन नसकेको टिआइएका टावर कन्ट्रोल प्रमुख सिताराम भण्डारीले बताए।
उनका अनुसार लुक्ला-काठमाठौं तथा काठमाडौं-लुक्ला गरी दुईतर्फी उडान नै ठप्प छ। आइतबार देखि नै मौसममा खराबी आएपछि नियमित उडान प्रभावित भइरहेको उनको भनाइ छ।
आइतबार यी दुवै रुटमा कुनै पनि उडान हुन सकेको थिएन। सोमबार केही उडान भए पनि मंगलबार पूर्णरुपमा मौसम प्रतिकूल भएपछि उडान ठप्प भएको भण्डारीले बताए।
लुक्लाको उडान ठप्प हुँदा सोलुखुम्बु जाने तथा काठमाडौं फर्किने विदेशी पर्यटक तथा अन्य यात्रुसमेत मर्कामा परेका छन्।
केही दिनयता बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढिरहेको छ। जसका कारण अहिले पूर्वी तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ भने बाँकी भूभागमा पनि आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। (फाइल तस्बिर- तेञ्जिङ हिलारी विमानस्थलको फेसबुक पेज)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।