डडेल्धुरा- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तीनै सरकार मिलेर पश्चिम सेतीको निर्माण कार्य अघि बनाउनुपर्ने बताएका छन्। स्थानीय, प्रदेश र संघीय सरकार मिलेर ७५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढाउनुपर्ने बताएका हुन्।
सोमबार डडेल्धुरामा नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सबै मिलिर पश्चिम सेती बनाउनुपर्ने बताएका हुन्। पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्ने भनेको वषौँ बितिसकेको भन्दै उनले संघीय सरकारले पश्चिम सेतीलाई सुरु गरे आफूहरु साथ दिन तयार रहेको बताए।
गत फागुनमा डडेल्धुरा पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नै पश्चिम सेतीको काम सम्पन्न गराउने दाबी गरेका थिए। तर, प्रधानमन्त्री ओलीले दाबी गरेको ७ महिना बित्दा समेत पश्चिम सेतीको काम अघि बढ्ने सुरसार कतै नदेखिएपछि मुख्यमन्त्रीले सबै मिलेर बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।
संघीय सरकारप्रति लक्षित गर्दै मुख्यमन्त्री भट्टले अरुले पैसा दिएन भनेर हामीले किन यसको काम रोक्ने? भन्दै प्रश्न गरे। पश्चिम सेती बनेपछि सुदूरपश्चिम प्रदेशको ‘कायापलट’ हुने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले पश्चिम सेती नबन्नु दुखद भएको बताए।
मुख्यमन्त्री भट्टले विकासमा साझा धारणा बनाएर अघि बढ्न स्थानीय सरकार प्रमुखहरुलाई आग्रह गरेका छन्। स्थानीय सरकार प्रमुखहरुलाई विकास निर्माण गर्दा पहिलो हुन्छु भन्नुभन्दा पनि राम्रो काम गर्न उनको सुझाव छ।
सरकारमाथि जनताका अपेक्षा धेरै रहेको बताउँदै मुख्यमन्त्री भट्टले स्थानीय सरकार जनताको नजिकको सरकार भएको धारणा व्यक्त गरेका छन्। जनताका विभिन्न किसिमका दबाबहरु सबैभन्दा बढी स्थानीय सरकार त्यसपछि प्रदेश र संघीय सरकारमा रहेको उनको बुझाइ छ। चुनावका बेला सबैले ‘सिंहदरबारको अधिकार गाउँगाउँ’ मा भनेर भाषण गरेको उल्लेख गर्दै उनले यसलाई कार्यान्वय गर्नमा समस्याहरु देखिएको बताए।
मुख्यमन्त्री भट्टले विगतका दिनमा अरुका कारणले सुदूरपश्चिममा विकास नभएकाले अब हामीले यस क्षेत्रको विकास गर्नुपर्ने बताएका छन्।
सुदूरपश्चिम प्रदेश सबै क्षेत्रमा धनी प्रदेशका रुपमा रहेको उनको भनाइ थियो। यहाँको कृषि, पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्यलगायतका विषयमा कसरी विकास गर्ने भन्ने नै प्रदेश र स्थानीय सरकारको चिन्ताको विषय भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।