काठमाडौं- २८ गते शनिबार पर्यटनमन्त्री योगेश भट्टराईका कारण नेपालगञ्जबाट काठमाडौं आउने विमान केही समय रोकिएका कारण यो विषय विवादित बनको छ। यस विषयमा बुद्ध एयरले विज्ञप्ति जारी गर्दै प्रष्ट्याउने प्रयास गरेको छ।
बुद्धका अनुसार शनिबार काठमाडौंबाट नेपालगञ्जका लागि विमान १६:५० बजे उड्नु पर्नेमा काठमाडौंबाट नै २३ मिनेट ढिला भई १७:१३ मा उडेको थियो र विमान नेपालगञ्जमा १८:०२ मा अवतरण गरेको थियो।
काठमाडौंको बुद्ध एयर फ्लाइट अप्रेसनले नेपालगञ्जलाई दिएको रिभाइज्ड समय अनुसार नेपालगन्जबाट विमान १८:२५ को सट्टा १८:४० मा उड्नुपर्ने थियो।
बुद्ध एयरसँगै यती एयरलाइन्सको विमान १७:५३ मा अवतरण गरेर १८:२१ मा उडेको र श्री एयरलाइन्सको विमान १८:३० माअवतरण गरेर १८:५१ मा उडेपछि यात्रुहरु विमानमा नलगिएको भन्दै असहज महसुस गर्न थालेका थिए।
सोही समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका सहयोगीले १८:२५ तिर नेपालगञ्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुखमार्फत् फोन गरेर धम्बोजी आइपुग्यौं भन्ने जानकारी दिएका थिए।
एयरपोर्टका कर्मचारीले यात्रुहरूलाई १८:३० तिर विमानमा बोर्डिङ गराएका थिए। उता मन्त्रीका सहयोगीले फोनमा जानकारी गराएभन्दा केही ढिला एयरपोर्ट प्रवेश गरेका थिए।
मन्त्री एयरपोर्ट प्रवेश गर्नु पहिला नै सुरक्षाकर्मीहरुकै अगाडि १४–१५ जना यात्रुहरुको समूह विमान परिचारिकाहरूले बाहिर ननिस्कन आग्रह गर्दागर्दै आक्रोशमा विमानबाट १८:४० तिर बाहिर निस्किएर कर्मचारीसँग वादविवाद गर्न थालेको बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री १८:५० मा एयरपोर्ट आइपुग्ना साथ बाहिरका उत्तेजित समूह मन्त्रीतिरै फर्केर ‘तपाईं किन ढिला आउनुभएको, तपाइले गर्दा हामी सबैले कुर्नुपर्ने हो’ भनी आक्रोश पोखेका थिए। मन्त्री चुपचाप विमानभित्र चढेपछि सो समुह म्न्त्रीसँग विमानभित्रै ४–५ मिनेट सम्म झन् बढी आक्रोशित भएपछि विमानको एकै भागमा धेरै वजन भएकाले विमान समेत ढल्किएको थियो।
सो समूहलाई साम्य बनाई विमानको सिटमा बस्न आग्रह गरेर उडान भर्दा अझ ढिला हुन गएको बुद्ध एयरले दाबी गरेको छ। नेपालगञ्जलाई दिएको रिभाइज्ड टाइमअनुसार नेपालगन्जबाट २४ मिनेट ढिला भई १९:०४ मा विमान उडेको थियो।
आइतबार वायुसेवा सञ्चालक संघले समेत उक्त घटना दुर्भाग्यपूर्ण भएको भन्दै विज्ञप्ति जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।