भर्जिनिया- कवि बसन्त चौधरीले आफ्नो विश्व-काव्ययात्राको दोस्रो चरणअन्तर्गत आइतबार साँझ अमेरिकाको भर्जिनियामा एकल कविता वाचन गरे।
सो एकल वाचनमा कवि चौधरीले माया–प्रेम, राजनीतिक विसंगति, समाज र आजको मान्छेबारे करिब दुई दर्जन कविता सुनाएका थिए।
‘माग्दिन प्रभु म तिम्रो स्वर्ग देऊ,
यही धर्ती भए पुग्छ, यही शान्ति भए पुग्छ’
कुनै पनि समारोहको आरम्भ गर्नुअघि ईश्वरको वन्दना गरिन्छ। कवि चौधरीले पनि यही मान्यतालाई स्विकार्दै वन्दनास्वरूप आफ्नो कवितावाचनको सुरुवात माथिको आध्यात्मिक गीतबाट गरेका थिए।
कविता वाचन गर्दागर्दै उनी भावुक भए। एउटा प्रेमको कविता वाचन गर्ने क्रममा कवितात्मक शैलीमै उनको भावुकता यसरी पोखियो– ‘प्रेमलाई त्यति सजिलै व्यक्त गर्न सम्भव छैन। के बिहानीको मिर्मिरेमा उदाउने सूर्यको स्वर्णिम किरणलाई शब्दमा व्यक्त गर्न सकिन्छ? के न्यानो घामलाई वा कालो सेतो बादललाई सजिलै वर्णन गर्न सम्भव छ? जसरी बर्सातको थोपाहरुलाई, फूलको सुगन्धलाई, इन्द्रधनुषी रङलाई, चराको चिरबिरलाई, बालकको अबोध मुस्कानलाई शब्दमा व्यक्त गर्न सकिन्न, त्यसैगरी प्रेमलाई सीमित शब्दमा व्याख्या गर्न सकिन्न। यो त एउटा शाश्वत भावना हो, जुन हाम्रो हृदयमा कहिल्यै नमर्ने गरी बसेको हुन्छ।’
भर्जिनियास्थित अन्तर्राष्ट्रिय कलाकार–मञ्चद्वारा आयोजित २० औँ शृङ्खला अन्तर्गत उनले आफ्ना केही नयाँ कविता र लोकप्रिय गजल पनि सुनाएका थिए।
कविता वाचनकै क्रममा प्रवासमा बस्नेहरूकै लागि लेखिएको ‘म सन्देश लिएर आएको छु’ र ‘आमा’ कविता वाचन गर्दा श्रोता गम्भीर र विह्वल भएका थिए। ‘आमा’ कविता वाचन गर्नुअघि उनले भने, ‘आमा’ शब्द उच्चारण गर्ना साथै एक किसिमको स्नेह र ममत्वको भाव नसानसामा सञ्चारित हुन्छन्। प्रेम र वात्सल्य छताछुल्ल भएर हृदयमा तरङ्गित हुन थाल्छन्। त्यसैले आमा ब्रह्माण्डकै सर्वप्रिय, सर्वपूज्य अनि हृदय र ढुकढुकीभन्दा पनि निकटको नाता हो।’
सो समारोहमा चौधरीका नौ भाषामा प्रकाशित काव्यकृति ‘वसन्त’ र हिन्दी भाषामा प्रकाशित कवितासंग्रह ‘चाहतों के साये में’ को समाजका ११ जना अग्रज व्यक्तित्वद्वारा संयुक्तरूपमा लोकार्पण गरिएको थियो।
सोही समारोहमा कवि चौधरीलाई विशिष्ट कविका रूपमा आयोजक अन्तर्राष्ट्रिय कलाकार–मञ्चले अभिनन्दन गरेको थियो।
यसअघि ८ सेप्टेम्बरमा क्यानडाको टोरन्टो र ११ सेम्टेम्बरमा अमेरिकाको न्युयोर्कमा आफ्नो काव्ययात्रा सम्पन्न गरेर कवि चौधरी विश्व–काव्ययात्राको २०औँ शृङ्खला प्रस्तुत गर्न भर्जिनिया पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।