काठमाडौं- गणेश रसिकका ५ पुस्तकको 'पेरुंगो संस्करण' बजारमा आएको छ।
'छपक्कै मनमा बसेकाहरु' (व्यक्तिपरक संस्मरण), 'ताराभन्दा सपना धेरै' (गीत/कविता), 'मुनिया र उसको छोरो' (कथा), 'दसगजामा उभिएर' (संस्मरण) र 'आकाशगंगाको ओतमुनि' (उपन्यास) को एकसाथ सार्वजनिक गरिएको हो।
शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा शिक्षाविद् डा केदारभक्त माथेमा, नृत्यकर्मी भैरवबहादुर थापा, गायक हिरण्य भोजपुरे, रामेश र उर्मिला श्रेष्ठले पुस्तक सार्वजनिक गरे।
पुस्तकमाथि टिप्पणी गर्दै शिक्षाविद् डा माथेमाले रसिकको मौलिक लेखनशैली र संगीतमय गद्यबाट आफू प्रभावित बनेको बताए। आफूले संगीतकार र गीतकारका रुपमा चिने पनि ०६४ तिर 'दसगजामा उभिएर' पढेपछि रसिकको व्यक्तित्वबारे थप परिचित हुन पाएको भन्दै उनले भने, 'राष्ट्रिय पहिचान कमाइसक्नुभएको उहाँको जीवन भने आफैंमा सुखप्रद छैन। अनेक वियोग सहँदै आउनुभयो।' इन्द्रबहादुर राईको भनाइ उद्धृत गर्दै माथेमाले थपे, 'सुख भन्नु कहिलेकाहीँ आइपुग्ने पाहुना, दु:ख सधैंको छिमेकी। रसिकजीको जीवनमा त्यो बज्रपात धेरै भोग्नुभएको छ।'
कसैको मन नदुखाईकन लेखनमा संयमित भएर प्रस्तुत भएको उनको भनाइ थियो।
डा गीता त्रिपाठीले आलोचनात्मक समाजवादी लेखकभन्दा पनि रसिकलाई आफूले गुणग्राही लेखकका रुपमा पाएको बताइन्। 'नाम रसिक भए पनि करुणाका लेखक हुन्। संवदेनाका लेखक हुन्,' उनले भनिन्, 'अरुको स्मृति गर्दैगर्दा उहाँले आफ्नो दायित्वबोध पनि गर्नुभएको छ।'
रसिकको लेखनमा करुणा र संवदेनाको मिश्रण रहेको भन्दै त्रिपाठीले त्यस्ता लेखनमा पर्यावरणीय चेतना पनि विस्तार भएर आएको चर्चा गरिन्।

अर्की वक्ता प्रनिका कोयुले रसिकको लेखन सबैले बुझ्न सक्ने सरल संवदेनशील भएको बताइन्। छपक्कै मनका बसेकाहरु आफूलाई विशेष लागेको भन्दै उनले आफ्ना साथीभाइसँगको सम्बन्धलाई पूर्वाग्रह नराखीकन सम्झिएको उल्लेख गरिन्। 'आफ्नो लेखनमा कसैलाई दुर्भाव सम्प्रेषण गर्नुभएको छैन। मानवीय संवेदनलाई आत्मसात गर्दै उहाँले त्यही अनुसार सरल जीवन जिउनुभएको छ,' उनले भनिन्।
गायक हिरण्य भोजपुरेले रसिकसँगका सम्बन्धबारे चर्चा गरेका थिए। २०२४ सालमा लेकाली समूह सुरु हुँदादेखिको आफूहरुको मित्रताबारे उनले ठट्यौलो पारामा सुनाए। 'उहाँको मुडुलो टाउको मैले कहिले देखेको छैन तर म टोपी लगाउँदिनँ। उहाँले जिन्स पाइन्ट लगाएको थाहा छैन। हाम्रो केही पनि मिल्दैन,' उनले भने, 'तर मन नजानिँदो पाराले मिल्यो। मन मिलेपछि सबथोक मिल्दो रै'छ।'
रसिक प्रतिभावान् सर्जक भएकाले गीतसंगीत र साहित्यमा उत्तिकै सफल भएको भोजपुरले बताए।
रसिकको पेरुंगो संस्करणलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।