काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले 'केही दिनमै' राजीनामा दिने सरकारका मन्त्रीहरुले बताएका छन्।
तीन वटै तह र राष्ट्रियसभाको चुनाव पनि सम्पन्न भइसकेको स्थितिमा प्रधानमन्त्री राजीनामा दिने सोचमा रहेकाे वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए।
'निर्वाचनको प्रक्रिया सम्पन्न गरेपछि राजीनामा दिने कि परिणाम आएपछि दिने भन्नेबारेमा छलफल चलिरहेको थियो', नेपाल लाइभसँग कुरा गर्दै मन्त्री विश्वकर्माले भने, 'कुनै पनि बेला राजीनामा गर्नु सक्नुहुन्छ।'
प्रधानमन्त्रीले कुन बेला राजीनामा दिँदा उपयुक्त हुन्छ भनेर सरसल्लाह लिइरहेको उनले जानकारी दिए।
अर्का मन्त्री मोहनबहादुर बस्नेतले पनि केही दिनमै प्रधानमन्त्रीबाट राजीनामा आउने संकेत गरे।
'प्रक्रिया पुर्याएर सहज तरिकाले राजीनामा दिने कुरा छ', मन्त्री बस्नेतले भने।
'प्रधानमन्त्री देउवाले पहिलेदेखि प्रक्रिया पुर्याएर चाँडै राजीनामा दिन खोज्नुभएको हो', उनले भने, 'अब दुई-चार दिनको ढिलोचाँडोमा राजीनामा दिनुहुन्छ।'
महान्यायाधिवक्ता वसन्तराम भण्डारीले भने प्रधानमन्त्रीले राजीनामा दिए पनि नयाँ सांसदले सपथ नलिई नयाँ सरकार बन्न नसक्ने बताए।
'सपथ नलिई संसद कसरी परिपक्व हुन्छ?', भण्डारीले प्रश्न गरे।
संवैधानिक प्रक्रिया अनुसार राष्ट्रियसभाको मतपरिणाम आएपछि त्यसपछि प्रतिनिधिसभा पूरा गर्न सहज हुने र अन्य प्रक्रिया अघि बढ्न सहज हुने उनले बताए।
'पछिसम्मलाई थिति बसाउने हो भने संविधानका धाराहरुको पालना गर्नुपर्छ', भण्डारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।