-नवराज मैनाली
काठमाडौं– संघीय संरचनामा पनि सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी(सिडिओ) रहने भएका छन्। केन्द्रीय सरकारको प्रतिनिधिका रुपमा सबै जिल्लामा सिडिओ राख्ने गृहकार्य सरकारले थालेको छ।
गृह मन्त्रालयले अहिलेको जस्तै अर्धन्यायिक अधिकारसहित जिल्लामा सिडिओ राख्ने प्रस्ताव गरेको छ। स्थानीय सुरक्षा तथा व्यवस्थापन ऐनमार्फत संघीयतामा पनि सिडिओ राख्न लागिएको हो। उक्त ऐनलाई अध्यादेशकै रुपमा ल्याउने तयारी भइरहेको छ। हालको स्वायत्त शासन ऐनलाई बिस्थापन गर्ने गरी नयाँ ऐन ल्याउन लागिएको हो।
स्थानीय सुरक्षा तथा व्यवस्थापन ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको गृह मन्त्रालयकी सहसचिव निर्मला अधिकारीले बताइन्। ऐनमा अहिलेजस्तै सबै जिल्लामा सिडिओ राख्ने प्रस्ताव गरिएको उनको भनाई छ।
ऐनको मस्यौदामा उल्लेख भएअनुसार जिल्लामा खटिने सिडिओहरु केन्द्रबाट खटिने छन्। संविधानले स्वायत्ततासहितको संघीयताको परिकल्पना गरेकाले यसरी केन्द्रबाट सिडिओ खटाउदा अधिकार क्षेत्र बाँझिन सक्ने कतिपयको चिन्ता छ। संवधानले स्थानीत तहलाई धेरै अधिकार दिएको छ।
सिडिओ केन्द्रको मातहत भएपनि प्रहरी भने प्रदेश सरकार मातहत खटिनेछ। हरेक प्रदेशमा छुट्टै प्रदेश प्रहरी रहने संविधानमा प्रष्ट व्यवस्था छ। तर, प्रहरीले केन्द्रबाट खटिने सिडिआको चेन अफ कमाण्डमा खटिदा समस्या आउन सक्ने समेत गृहका एक अधिकारी बताउँछन्।
संविधानमा प्रदेशहरुमा गृह मन्त्रालयको संरचनाबारे प्रष्ट उल्लेख छैन। जसकारण संघीयतामा सिडिओ हुन्छ कि हुन्न भन्ने अन्योलता रहदै आएको थियो। जिल्लामा अदालत, जिल्ला सरकारी वकिल कार्यालय रहेने प्रष्ट व्यवस्था छ। गृहले सिडिओ र प्रहरीलाई पनि जिल्लाकै कमाण्डमा चलाउने प्रस्ताव गरेको छ।
गृहले अहिलेकै पाएकै अधिकार सिडिओालई संघीयतामा पनि दिने प्रस्ताव गरेको छ। सिडिओले हाल हातहतियार तथा खरखजना, कालोबजारी तथा सार्वजनिक अपराध ऐनमा न्यायधीशका रुपमा मुद्दाको फैसला गर्दछन्। संघीयतामा पनि सिडिओलाई यी अधिकार दिने स्थानीय सुरक्षा तथा व्यवस्थापन ऐनको मस्यौदामा छ।
संसदमार्फत ऐन ल्याउदा सांसदहरुले सिडिओको अधिकार कटौती गर्न सक्ने भएकाले कर्मचारीहरुले अहिले हतार हतार अध्यादेशमार्फत नै ऐन ल्याउन लागेको स्रोत बताउँछ। महत्वपूर्ण विषयमा विस्तृत छलफल नै नगरी ऐन बनाउनु गलत हुने धारणा गृहकै केही अधिकारीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।