काठमाडौं- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा दाबी गरेकी छिन्। राष्ट्रियसभा निर्वाचनमा मतदान गरेलगत्तै नेपाल लाइभसँग कुरा गर्दै शाक्यले प्रदेश ३ को मुख्यमन्त्री आफू नै बन्ने दाबी गरिन्।
‘मुख्यमन्त्रीमा मेरो दाबी हो, स्थिति पनि राम्रो छ,’ उनले भनिन्।
एमाले प्रदेश ३ को संयोजकसमेत रहेकी शाक्यले अन्तिम समयसम्म सहमतिको पहल गर्ने र सर्वसम्मत नभए निर्वाचनबाट संसदीय दलको नेता चुनिने बताइन्।
शाक्यले भनिन् ‘निर्वाचनमा म आफै पनि जान्छु, राम्रो मत पनि छ, जित हुनेमा ढुक्क छु।’
शाक्यले दुई कारणले आफू मुख्यमन्त्री बन्ने दाबी गरिन्।
‘म प्रदेश नम्बर ३ को संयोजक समेत हुँ, मेरो नेतृत्वमा एमालेले स्थानीय निर्वाचनमा राम्रो नतिजा ल्याएको छ। त्यस्तै, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि वाम गठबन्धनको अवस्था राम्रो छ,’ उनले भनिन्, ‘पहिलो कुरा महिलाले जिम्मेवारी पाउँदैनन्, तर मेरो नेतृत्वको टिमले गर्दा प्रदेशमा स्थिति राम्रो बनेको छ।’
राजनीतिक पृष्ठभूमिका आधारमा समेत प्रदेश ३ को मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको उनको भनाइ छ।
'पार्टीको उपाध्यक्ष पदमा छु, राजनीतिक पृष्ठभूमि र समावेशिताको कुरा पनि छँदैछ,' शाक्यले भनिन्, ‘प्रदेशका साथीहरु समेत तपाईं नै हुनुपर्छ भनेर लागेका छन्, समर्थन पनि मिलेको छ।’
वाम गठबन्धनको सहमति अनुसार प्रदेश ३ मा एमालेले प्रादेशिक सरकारको नेतृत्व गर्दैछ। प्रदेश सरकारको नेतृत्वका लागि राजेन्द्र पाण्डे लगायतका नेताहरुले शीर्ष नेतृत्वसमक्ष लबिङ तीव्र पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।