काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतपरिणाम ४८ घन्टाभित्र सार्वजनिक गर्ने जनाएको छ। एकल संक्रमणीय प्रणाली अनुसार हुन लागेको निर्वाचनको अन्तिम मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने आयोगको तयारी छ।
आयोगका प्रवक्ता नवराज ढकालले ढिलोमा २६ गतेभित्र मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यका साथ आयोगले काम गरिरहेको बताए।
‘छिटोभन्दा छिटो मतपरिणाम सार्वजनिक गर्नेगरी आयोगका सम्पूर्ण पक्ष लागिरहेका छन्’, ढकालले नेपाल लाइभसँग भने, ‘नतिजा सार्वजनिक २६ गतेभन्दा ढिलो हुँदैन।’
आयोगले राष्ट्रियसभाको परिणाम आए लगत्तै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ। राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले त्यसलाई रोकेर राखेको छ।
प्रमुख आयुक्त अयोधीप्रसाद यादवले फागुनको पहिलो हप्ताभित्र प्रतिनिधिसभाको निर्वाचनको सम्पूर्ण विवरण राष्ट्रपतिसमक्ष बुझाउने बताएका छन्।
राष्ट्रियसभा निर्वाचन बुधबार हुँदै छ। मतदान बिहान १० देखि ३ बजेसम्म हुने आयोगले जनाएको छ। ५६ सदस्यका लागि हुने निर्वाचनमा २६ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्। प्रदेश नम्बर २ मा भने ८ वटै सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।
राष्ट्रिय सभा निर्वाचनमा भाग लिन २१ दलले नाम दर्ता गराए पनि १३ दलले मात्र उम्मेदवारी दर्ता गराएका थिए।
प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८ सदस्यमा तीन महिला, एक दलित, एक अपांगता भएङ्का व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जना निर्वाचित हुनेछन्।
निर्वाचनमा स्थानीय तहका प्रतिनिधि र प्रदेश सांसद गरी कुल २ हजार ५६ मतदाता छन्। स्थानीय तहका प्रतिनिधिको प्रत्येक मतभारको १८ र प्रदेश सांसदको मतभार ४८ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।