मिर्गौला फेल हुने कारणहरु धेरै छन्। त्यसमध्ये यी प्रमुख कारणबारे जानकारी राख्नु उचित हुन्छ।
१. क्रोनिक ग्लोमोरुलो नेफ्राइटिस
यो एक प्रकारको पिसाबबाट प्रोटिन चुहिने रोग हो। यसको समयमै उपचार गरिएन भने बिस्तारै यसले मिर्गौलालाई खराब गर्दै जान्छ।
२. मधुमेह
मधुमेह नियन्त्रणमा आउन नसके यसले साना रक्तनलीलाई खराब गर्छ। यसले विस्तारै आँखा, मुटु, मस्तिष्क लगायतका अङ्गमा असर पुर्याएजस्तै मिर्गौलालाई पनि खराब गर्छ।
३. उच्च रक्तचाप
मिर्गौला फेल हुनुको मुख्य कारण मध्ये उच्च रक्तचाप पनि एक हो। रक्तचाप नियन्त्रण भएन भने पनि यसले मिर्गौलामा गम्भीर असर गर्छ र दुवै मिर्गौला फेल हुन सक्छन्।
४. पत्थरी
मिर्गौलामा पत्थरी भएमा यसले मिर्गौलाको नियमित काममा बाधा पुर्याउँछ, जसले गर्दा मिर्गौला फेल पनि हुन सक्छ।
५. वंशाणुगत
केही व्यक्तिमा मिर्गौलाको रोग वंशाणुगत पनि हुने गर्छ। परिवारका कुनै सदस्यलाई मिर्गौला रोग भएमा अन्य सदस्यमा पनि मिर्गौला सम्बन्धी समस्या हुने सम्भावना बढी हुन्छ। वंशाणुगत समस्याका मुख्य कारणहरु विशेष गरी दुई प्रकारका हुन्छन्
(क) एडल्ट पोलिसिस्टिक किड्नी डिजिज
जिनमा गडबडी आएर मिर्गौलामा धेरै फोकाहरु बन्न थाल्छन्। ती फोकाले मिर्गौलाका तन्तुहरुलाई नास गर्छन् र मिर्गौलामा खराबी आउँछ। यसरी मिर्गौलामा समस्या ल्याउने एडल्ट पोलिसिस्टिक किड्नी डिजिज वंशाणुगत हुन्छ।
(ख) अल्पोर्ट सिन्ड्रोम
अल्पोर्ट सिन्ड्रोम पनि एक वंशाणुगत रोग हो। यसका कारण मिर्गौला खराब हुने मात्र होइन आँखा नदेख्ने र कान नसुन्ने समस्या पनि हुन्छ।
६. दुखाइ कम गर्ने औषधिको प्रयोग
दुखाइकम गर्ने औषधीको प्रयोगले मृर्गौलालाई खराब गर्छ । यस्तो खालको औषधीको सेवन गर्दा चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ । अन्दाजका भरमा फार्मेसीबाट जथाभावी यस्ता औषधी प्रयोग गर्नाले धेरै मृर्गौला,मुटु र पेटमा असर गर्छ ।
७. एन्टिवायोटिकको प्रयोग
दुखाइकम गर्ने औषधीको प्रयोग झै एन्टिवायोटिकको जथाभावी प्रयोगले पनी मृर्गौला असर गर्छ
८. पिसाबनलीमा अवरोध आएमा
पिसाबनलीमा विभिन्न कारणले अवरोध आउन सक्छ,कहीले काही मृर्गौलामा हुने पत्थरीका कारण पनी पिसाब नली अवरुद्ध हुन सक्छ भने कहीले काही पिसाब नलीमा हुने संक्रमणका,प्रोस्टेट ,ट्यूमर आदी कारण पनी अवरोध आउन सक्छ । पिसाबनलीमा निरन्तर अबरोध रहेमा यसले मृर्गौला खराब हुन्छ ।
९. मोटोपना भएमा
मोटोपना भएकाहरु मिर्गौला रोगको उच्च जोखिममा गनिन्छन् । मोटोपनाले शरीरमा उच्च रक्तचाप,मधुमेह बढाउँछ र अन्त्यमा मिर्गौला खराब हुन्छ ।
मिर्गौला रोगका लक्षणहरु
१. पिसाबको रङमा परिवर्तन आउनु। धमिलो हुनु वा पिसाब पोल्नु।
२. आँखाको डिल सुन्निनु।
३. खानामा रुची घट्दै जानु।
४. शरीर दुब्लाउँदै जानु।
५. दुवै तर्फका कोखाहरु दुख्नु।
६. खुट्टा सुन्निनु।
७.थकाइ लाग्नु ।
८.सास फेर्न गार्हो हुनु ।
रोकथाम
सकेसम्म रक्तचाप, पिसाब र रगतको बर्सेनि परीक्षण गर्नुपर्छ। यसो गर्दा मिर्गौला सम्बन्धी समस्या देखिएमा तत्काल चिकित्सकको परामर्श लिन सकिन्छ। खासगरी मिर्गौला खराब हुने उच्च जोखिमा भएका व्यक्तिहरु (उच्च रक्तचाप, मधुमेह र वंशाणुगत मिर्गौला सम्बन्धी समस्या भएका परिवार) ले नियमित परीक्षण गर्नु अनिवार्य हुन्छ। यस्तै ३० वर्ष पुगेका व्यक्तिले पनि रक्तचाप, पिसाब र रगतको परीक्षण गरिरहनुपर्छ। माथि उल्लेखित लक्षणहरु मध्ये कुनै पनि लक्षण देखा परेमा सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ। मिर्गौलालाई स्वस्थ राख्न स्वस्थ आहार र नियमित शारीरिक व्यायम गर्नुपर्छ। जथाभावी वा अनुमानका भरमा दुखाइ कम गर्ने औषधि वा एन्टिवायोटिकको प्रयोग गर्नु हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।