काठमाडौं- प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले नेपाल प्रहरी अपराध नियन्त्रण गर्न र अपराधी पक्राउ गर्न सक्षम भएको बताएका छन्। मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं, महानरीय प्रहरी अपराध महाशाखा र नेपाल पुलिस क्बलको भवन निमार्णको शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन्।
भवन निर्माण शिलान्यास सम्पन्न भएपछिको कार्यक्रमलाई सम्बोधन गर्दै आइजी खनालले विदेशी नागरिकले अपराध गरेर नेपालमा लुक्न सक्छु भन्ने भ्रम हटाउन भन्दै भने, ‘नेपाल अपराधको क्रिडास्थल बन्ने छैन। त्यो भ्रम विदेशी अपराधीले नपाले हुन्छ।’
केही दिन अघिमात्रै अमेरिकका मोस्ट वान्टेड बाल यौन दुराचारी नाथन माकोब्स्की र चिनियाँ ह्याकरहरु नेपालमा पक्राउ परेका घटनालाई लक्षित गर्दै आइजी खनालले भने, ‘कानुनी दायरामा आउन मन छ भने नेपाल आए हुन्छ।’
विदेशी अपराधीको क्रिडास्थल नेपाल नबन्ने उनले दाबी गरे।
त्यस्तै, समुदाय प्रहरी साझेदारी कार्यक्रमार्फत पनि प्रहरीले राम्रो काम गर्दै आएको आइजी खनालको भनाइ छ। यो कार्यक्रम लागू भएपछि मात्रै ३५ सयभन्दा बढी सिसी क्यामेरा जडान भएको, स्थानीय तहहरुसँग समन्वय भएको, साझेदारी कार्यक्रममार्फत नै अपराध नियन्त्रणमा उल्लेखनीय काम भएको आइजी खनालले उल्लेख गरे।
बालबालिकामा हुने अन्याय तथा अपराध, मानव बेचबिखनका घटना, बलात्कारलगायतमा प्रहरी कठोर भएर उत्रिएको आइजी खनालको भनाइ थियो।
शान्तिसुरक्षा र अमनचयन कायम राख्नु नेपाल प्रहरी दायित्व भएकाले सोही भावनाले काम गर्न पनि उनले निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।