हेटौंडा- सरकारी वकिलको कार्यालय, हेटौंडाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा आरोपित अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने माग गर्दै निवेदन दर्ता गराएको छ।
सोमबार पाटन उच्च अदालत, हेटौँडा इजलासमा उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले निवेदन दिएको उच्च अदालत हेटौंडा इजलासका रजिष्ट्रार विकास श्रेष्ठले बताए। मुद्दा बिहीबार पेसीमा चढ्ने भएको छ।
जिल्ला अदालत चितवनले धरौटीमा छोड्ने निर्णय नमिलेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले निवेदन दिएको हो।
रवि लामिछाने पनि केही दिन पहिले आफैं हेटौंडा इजलास पुगेका थिए। उनको मुद्दामा उच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलले रविलाई ५ लाख, कँडेललाई ३ लाख र कार्कीलाई साधारण तारेखमा छाड्ने आदेश गरेको थियो।
उक्त आदेश बदर हुनु पर्ने माग गर्दै सरकारी पक्षले पनि निवेदन दिएको हो। निवेदन उपर मंगलबार सुनुवाई हुने भएको छ।
यसअघि धरौटीमा छुटेका लामिछाने र कँडेलले आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनु पर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेश विरुद्ध निवदेन दर्ता गराएका थिए।
पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका लामिछाने र कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमशः ५ र ३ लाख रुपैयाँ धरौटी मागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।