जनकपुर– धनुषाको हंसपुर नगरपालिकाका मेयर र उपमेयर विवादले झन उग्र रुप लिएको छ।
गत साउन २१ गते हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको विवादमा प्रहरी र स्थानीयबीच झडप हुँदा वडा नं. २ बस्ने तपेश्वर मण्डल घाइते भएका थिए।
उनको उपचारको क्रममा भदौ १८ गते बुधबार साँझ जनकपुर अञ्चल अस्पतालमा मृत्यु भयो। मृतक मण्डल उपमेयर पक्षधर थिए।
मण्डलको मृत्युपछि उपमेयर रेणु झाको अगुवाइमा मण्डलका छोरा राजकुमार मण्डलले मेयर रामज्ञान मण्डल, वडा नं. ३ का वडाध्यक्ष उदय सिंह, कार्यपालिका सदस्य श्याम राउत र वडा नं. ४ का स्थानीय लालबाबु यादवमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यान मार्ने उद्योगमा भदौ १९ गते मुद्दा दर्ता गराइएको छ। प्रहरीले सो मुद्दामा अनुसन्धान गरिरहेको छ।
यता आइतबार हंसपुर नगरपालिकाका मेयर समर्थकले जनकपुरधाममा प्रदर्शन गर्दै उपमेयर झासहित ३ जनाविरुद्ध सोही मुद्दामा प्रहरीमा किटानी जाहेरी दर्ता गराएका छन्।

हंसपुरबाट ट्रयाक्टर, मोटरसाइकललगायतका सवारी साधनमा आएका मेयर रामज्ञान मण्डलका समर्थकले उपमेयर रेणु झाविरुद्ध नाराबाजी गरेका थिए। मेयर लगायत ४ जनामाथि लगाइएको झुठा मुद्दा खारेज गर्न उनीहरुको माग थियो।
मेयर पक्षधरले स्थानीय रेल्वे स्टेशनमा जम्मा भई भानुचौक, शिवचौक, रामचौक, मुरली चौक, कदम चौक जिल्ला प्रशासन हुँदै जिल्ला प्रहरी कार्यालयसम्म नारा जुलुश प्रदर्शन गरेका छन्।

जुलुस प्रदर्शनसहित मेयर समर्थकहरु मनोज कुमार सिंह, शशि कापड र सदैय यादवले उपमेयर रेणु झा, वडा नं. २ का वडाध्यक्ष उदय साह र वडा नं. २ बस्ने किशोरी यादवमाथि आइतबार जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।